डिभी परेर वडाध्यक्ष अमेरिका, आयोगले मानेन इमेलबाट पठाएको राजीनामा
मकवानपुर, कात्तिक २८ : डिभी परेर अमेरिका गएका मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष जगतमान घिसिङको राजीनामा स्वीकृत भएको छैन। निर्वाचन आ....
मकवानपुर, कात्तिक २८ : डिभी परेर अमेरिका गएका मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष जगतमान घिसिङको राजीनामा स्वीकृत भएको छैन। निर्वाचन आयोगले इमेलबाट पठाएको राजीनामा स्वीकृत नगरेपछि उपनिर्वाचन नहुने भएको छ।
चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ। समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने भएको हो।
वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वडाध्यक्ष घिसिङ गत वर्षको चैत २७ गते परिवारसहित अमेरिका गएका थिए।
उनले राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए।
निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए। वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ।
अमेरिका गएको पाँच महिनापछि घिसिङले इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए। ‘उहाँले इमेलमार्फत त राजीनामा पठाउनुभयो तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो,’ उनले भने।
उनले इमेलमार्फत पठाएको राजीनामा निर्वाचन आयोगले स्वीकार गरेको छैन। आयोगले हस्त लिखित नै राजीनामा हुनुपर्ने जनाएको छ। जसले गर्दा यस वडामा उपनिर्वाचन नहुने भएको हो।
२०७४ भएको निर्वाचनमा उनी नेकपाको तफैबाट पाँच सय ४१ मत लिएर विजयी भएका थिए। दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले दुई सय २३ मत पाएका थिए भने कांग्रेसका दिपेशकुमार विश्वकर्माले एक सय ९१ मत पाएका थिए। (रासस)






