राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता
काठमाडौं, कात्तिक २७ : राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।
राष्ट्रपत....
काठमाडौं, कात्तिक २७ : राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार दिउँसो भएको भेटवार्तामा उनीहरुबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। भेटमा उनीहरुबीच विद्यमान पारस्परिक सम्बन्धका विषयमा पनि छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेको धन्यवाद दिएकी थिइन्। दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको बताउँदै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन्।
भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरे। बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए।
नेपाल भ्रमण गर्ने निम्ता दिएकोमा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।
भेटम उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो।






