लीलाध्वज थापा साहित्य पुरस्कार शर्मालाई

काठमाडाैं, असार १८ : लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रा. गोपीकृष्ण शर्मालाई लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
शिक्षण पेशाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लामो समयदेखि योगदान गरेवापत शर्मालाई उपन्यासकार लीलाध्वज थापाको १०२औँ जन्मजयन्तीको अवसरमा रु २५ हजार राशिद्वारा पुरस्कृत गरिएको हो। पुरस्कृत शर्माले करिब चार दशकदेखि नेपाली भाषा तथा साहित्यमा योगदान दिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले उपन्यास, नाटक, कथा, कविता सिर्जना गरी समाजलाई चेतनशील बनाउन स्व. थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। सोही प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले थापाका कृतिलाई संरक्षण गर्नका लागि केही कृति प्रज्ञा प्रतिष्ठानले प्रकाशनका साथै बिक्री वितरण गरेको जानकारी दिए।
बीके पाल्पलीले लेखेको ‘लीलाध्वज थापा’ जीवनी काव्य, सरिता केसीले लेखेको ‘विजयध्वज थापा व्यक्ति र कृति’ साथै विजयध्वज थापाले लेखेको ‘रहस्य गहिरो छ’ मुक्तक संग्रहको लोकार्पण गरिएको कार्यक्रममा रेणुका भट्टराई तथा सरिता केसीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।
२०१४ सालमा थापाको ‘मन’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो भने ‘शान्ति’ र ‘पूर्वस्मृति’ उनका चर्चित उपन्यास हुन्। उनका ‘अमर माया’ नाटक तथा बालसाहित्यतर्फ ‘दारी’ व्यङ्ग्य निबन्ध, खण्डकाव्यमा ‘सबैका लागि’ र ‘सधैंका लागि’ साथै कथा, कविता प्रकाशित छन्।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिरहेको प्रतिष्ठानले नेपाली भाषा, साहित्य तथा बाङ्मयका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्रष्टालाई समेत पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए।












