भारतीय अतिक्रमण रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, कात्तिक २७ : भारतले अतिक्रमण गरेको कालापानीलगायत देशभरका अतिक्रमित भूमिको सुरक्षा माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
बु....
काठमाडौं, कात्तिक २७ : भारतले अतिक्रमण गरेको कालापानीलगायत देशभरका अतिक्रमित भूमिको सुरक्षा माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
बुधबार अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन्।
यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ।
रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ।
सीमामा अतिक्रमित भूमिबारे राज्य मौन बस्दा सर्वसाधारण आमजनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्यगर्नु सरकार र राज्यको दायित्व भएको रिटमा उल्लेख गरिएको छ।






