Kathmandu Press

कमल थापाले दिए बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्ष

काठमाडौं, कात्तिक २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफू अमेरिका भ्रमणमा जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी बुद्धिम....

कमल थापाले दिए बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्ष
साैजन्य : राप्रपा ।

काठमाडौं, कात्तिक २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफू अमेरिका भ्रमणमा जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई दिएका छन् । अध्यक्ष थापाको बुढानीलकण्ठस्थित निवासमा बसेको राप्रपा पदाधिकारी बैठकले उक्त जिम्मेवारी दिएको हो । 

बैठकपछि राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार, अध्यक्ष कमल थापा डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेशनल डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन र पार्टीको भातृसंगठन– प्रवासी नेपाली एकता समाज, अमेरिकाको अधिवेशनमा प्रमुख आतिथि भएर त्यसतर्फ मंगलबार प्रस्थान गरेका छन् ।

उनी अमेरिकाका विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ‘उहाँको अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समीक्षा गर्न बसेको पदाधिकारी बैठकले सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नेपालको भूभाग समेतलाई समेट्ने गरी हालसालै भारतबाट एकतर्फी रुपमा प्रकाशित राजनैतिक नक्साबाट यसअघि नेपाल र भारत सरकारबीच सीमाविवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरीय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल–भारतबीचको सम्बन्धमा संशय पैदा भएको निष्कर्ष निकालेको छ । 

‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन । भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटी सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमासबै पदाधिकारीहरु र केन्द्रीय कार्य समितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन पनि निर्देश गरेको छ ।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, कात्तिक २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्