लण्डन-पेरिस उडेको बोइङ बेच्न तेस्रो टेन्डर, ४८ करोड मूल्य
काठमाडौं, कात्तिक २७ : नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ जहाज विक्रीका लागि तेस्रो पटक टेन्डर आह्वान गरेको छ। पहिलो र दोस्रो पटकभन्दा झण्डै आध....

काठमाडौं, कात्तिक २७ : नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ जहाज विक्रीका लागि तेस्रो पटक टेन्डर आह्वान गरेको छ। पहिलो र दोस्रो पटकभन्दा झण्डै आधा मूल्य घटाएर टेन्डर आह्वान गरेको हो।
निगम व्यवस्थापनले मंगलबार गण्डकी नाम दिइएको ९ एन–एसीबी कलसाइनको बोइङ–७५७ जहाज विक्रीको टेन्डर आह्वान गरेको छ।
पहिलो पटक प्रस्वात गरिएको मूल्यमा ३९ करोड ६ लाख ४७ हजार दुई सय २० रुपैयाँ कम गरिएको छ। तेस्रो पटकको प्रस्तावअनुसार, बोइङको मूल्य ४८ करोड ४५ लाख रुपैयाँ राखिएको छ।
बोइङ बिक्रिका लागि पहिलो र दोस्रो पटक ग्लोबल टेन्डर आह्वान गर्दा ८७ करोड ५१ लाख ४७ हजार दुई सय २० रुपैयाँ मूल्य तोकिएको थियो। यसमा कर जोडिएको थिएन्। जहाजको उडानयोग्य प्रमाणपत्रको म्याद पनि सकिँन लागेको छ। निगमका अनुसार, बोइङको उडान म्याद २०२० को फेब्रुअरीसम्म मात्रै छ।
उडान म्याद सकिन लागेकाले जहाज जे–जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गर्न लागिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए। ‘यतिकै विमान थन्काउनभन्दा कम मूल्य राखेर सार्वजनिक प्रस्ताव आह्वान गरिएको हो,’ अध्यक्ष खरेलले भने।
यस पटक प्रस्ताव पेश गर्ने समय १५ दिनको राखिएको छ। पहिलो पटक असार ११ गते ४५ दिनको समयावधि राखेर ग्लोबल टेन्डर आह्वान गरिएको थियो।
पहिलो टेन्डरमा प्रस्ताव नआएपछि दोस्रो पटक १५ दिनको म्याद राखेर भदौ पहिलो साता टेन्डर आह्वान गरिएको थियो। त्यसमा दुइटा कम्पनीले आवेदन दर्ता गरेका थिए। तर, दुवै अयोग्य भए।
निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता गणेशबहादुर चन्दले कम मूल्य राखेर प्रस्ताव आह्वान गरेकाले खरिदकर्ता आउने विश्वास रहेको बताए। खरिदकर्ताले पाँच हजार डलर बैंक ग्यारेन्टी पत्र पेस गर्नुपर्छ।
यो जहाजले विगतमा बेलायतको लन्डन, जर्मनीको फ्रैंकफर्ट र फ्रान्सको पेरिस उडान गरेको थियो। निगमका अनुसार, यो जहाज खरिद गरेयता ८९ हजार चार सय ६२ घण्टा ३५ मिनेट अर्थात ३० हजार पाँच सय ३५ साइकल उडान गरिसकेको छ। यसको एउटा इन्जिन सन् १९८८ मे र अर्को सन् १९८७ मार्चमा निर्माण भएका थिए।
सन् १९८८ सेप्टेम्बर १५ मा बनेको बोइङ निगमले कम्पनीमा निर्माण हुँदाहुँदै खरिद गरेको थियो। एक सय ९० सीट क्षमताको यो जहाज सन् २०१८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ।
निगमले वाइडबडी विमान खरिद गरेपछि बोइङ विमान विस्थापन गर्न सुरू गरेको थियो। यसअघि अन्नपूर्ण नाम दिइएको अर्काे बोईङ बीबी एयरवेजले खरिद गरेको थियो। त्यो पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ।












-(7)-1765197040.jpg)