कांग्रेसले भन्यो- कालापानीलगायत भू-भाग फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल गरोस्
काठमाडौं, कात्तिक २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तर....

काठमाडौं, कात्तिक २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा आफूहरुलाई मान्य नहुने बताए।
सीमाका विषयमा कांग्रेसले यसअघि नै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले भने,‘ कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको भएको भन्दै सो क्षेत्र फिर्ता लिन सरकारलाई खुला र प्रष्ट समर्थन रहने धारणा व्यक्त गरिसक्नुभएको छ।’
सरकारले गरेको पहलबारे कांग्रेसले सतर्कतापूर्वक नियालिरहेको उनले बताए। सीमा विवाद सम्बन्धमा राष्ट्रिय एकता निर्माण भएको अवस्थामा परिणाममुखी पहल गर्न सरकार सक्षम हुने पार्टीको विश्वास रहेको प्रवक्ता शर्माको भनाइ छ।
यस्तै, सरकारले प्रदेश प्रमुख बर्खास्त गरेको घटनाले निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रष्टिकरणप्रति कांग्रेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रवक्ता शर्माले निर्वाचन आचारसंहिताको परिच्छेद-४ को ९ मा ‘नयाँ पद सिर्जना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख रहेको बताए। उनले कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुने बताए।











