Kathmandu Press

मोदीलाई डा. केसीको पत्र, भने- सीमा मिचेर नेपालीको आत्मसम्मानमा चोट नपुर्‍याउनुस्

काठमाडौं, कात्तिक २६ : कालापानी क्षेत्रको नेपाली भू-भाग भारतले आफ्नो नक्सामा राखेको विषयले स्तब्ध भएको बताउँदै आमरण अनसन तोडेका डा. गोविन्द केसील....

मोदीलाई डा. केसीको पत्र, भने- सीमा मिचेर नेपालीको आत्मसम्मानमा चोट नपुर्‍याउनुस्
फाइल

काठमाडौं, कात्तिक २६ : कालापानी क्षेत्रको नेपाली भू-भाग भारतले आफ्नो नक्सामा राखेको विषयले स्तब्ध भएको बताउँदै आमरण अनसन तोडेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र पठाएका छन्।

नेपाली भूभाग भारतीय पक्षले मिचेको विषयमा सरकारले गरेको निर्णयप्रति समर्थन जनाउँदै अनसन तोडको डा. केसीले मंगलबार भारतीय प्रधानमन्त्री मोदीलाई खुला पत्र पठाएका हुन्।  पत्रमार्फत डा. केसीले सीमा मिचेर नेपालीहरुको आत्मसम्मानमा चोट नपुर्‍याउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 

नेपाली भूभाग भारतको नक्सामा समेटिएको विषयले आफू स्तब्ध भएको पनि उनले उल्लेख गरेका छन्। ‘अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रहको अभियानमा छु। तर यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ पत्रमा डा. केसीले उल्लेख गरेका छन्। 

कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे जानकार नभएको उल्लेख गर्दैै डा. केसीले भनेका छन्,‘ सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।’

डा. केसीले नेपालसँग हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गरेका छन्।

डा. केसीले भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको नभई अनादिकालदेखि ती भूभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध भएको बताएका छन्।

हेर्नुस् मोदीलाई पठाएको पत्र:

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, कात्तिक २६, २०७६