Kathmandu Press

कालापानीका विषयमा रामचन्द्र पौडेलले भने- प्रधानमन्त्रीले कति गर्नुहुन्छ, व्यवहारमा हेर्नुछ

हेटौँडा, कात्तिक २६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कांग्रेस....

कालापानीका विषयमा रामचन्द्र पौडेलले भने- प्रधानमन्त्रीले कति गर्नुहुन्छ, व्यवहारमा हेर्नुछ

हेटौँडा, कात्तिक २६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कांग्रेसले कुटनीतिक पहल गर्न सरकारलाई साथ दिने भनिसकेकाले अब प्रधानमन्त्रीको पहल व्यवहारमा हेर्न चाहेको बताएका छन्।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगबलार मकवानपुरको हेटौँडामा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए।

पौडेलले भने, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौँ। प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ।’ सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने बताए।

उनले भने, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने? भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन अब हेर्नुपर्छ।’ 

उनले प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको बताए। उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानेर दुःख दिने काम गरिरहेको दाबी पनि गरे।

‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुःख दिने, पाखा लगाउने काम गरेको छ, दुई तिहाइ सत्ताको घोर दुरुपयोग गरेको छ,’ उनले भने।
 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, कात्तिक २६, २०७६