डा. गोविन्द केसीले तोडे अनसन
काठमाडौं, कात्तिक २६ : अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ९ दिनदेखि डडेल्धुरामा अनसनरत....
काठमाडौं, कात्तिक २६ : अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ९ दिनदेखि डडेल्धुरामा अनसनरत डा. केसीले चार वर्षीया बालिकाको हातबाट जुस पिउँदै मंगलबार अपरान्ह अनसन तोडेका हुन्।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गरिएको डा. केसीले बताएका छन्। स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफ्ना् लडाइँ जारी रहने डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारले आफूले अघि सारेका माग पूरा नगरेको पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी डा. केसीले दिएका छन्। भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको भन्दै देशभर भइरहेका विरोध प्रदर्शनप्रति पनि डा. केसीले ऐक्यबद्धता जनाएका छन्।
आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो भएपनि सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे त्यो स्वीकार्य नहुने डा. केसीले बताएका छन्।
‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ। त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने डा. केसीले बताएका छन्।
डा. केसीले सरकार समक्ष ७ बुँदे माग राख्दै गत कात्तिक १७ गतेदेखि डडेल्धुरामा अनसन सुरु गरेका थिए। उनले सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा आफ्नो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई धन्यवाद पनि दिएका छन्।






