Kathmandu Press

मत्स्यनारायण मन्दिरबाट सुनको जलप लगाएको तामाको तोरण चोरी, दुर्व्यसनी युवाले चोरेको आशंका 

मच्छेगाउँ प्रहरी प्रभागका असई दिनेशकुमार सुनारका अनुसार, मन्दिरको सामान हराएको सूचना पाएसँगै मन्दिरमा पुगी अनुसन्धानलाई तीव्रता दिएको बताउँछन्।  
मत्स्यनारायण मन्दिरबाट सुनको जलप लगाएको तामाको तोरण चोरी, दुर्व्यसनी युवाले चोरेको आशंका 

काठमाडौं, असार १५ : चन्द्रागिरी नगरपालिका– ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरका पुजारी तथा ज्योतिष शैलेश आचार्य सधैँझैँ ६ असारको बिहान नित्यपूजाका मन्दिर पुगे। त्यस दिन मन्दिर सकुशल थिएन, ताला तोडी ढोका खुलेको अवस्थामा थियो। ‘मन्दिरमा चोरी भएको चाल पाउनेबित्तिकै केही सामान नछोइकन मैले प्रहरीलाई फोन गरिहालेँ,’ ४३ वर्षीय पुजारी आचार्य भन्छन्, ‘प्रहरी आएर हेरे। घटना रातको २–३ बजेतिर भएको अनुमान गरेका छौँ।’

मन्दिरको भित्री ढोकाको छेउछेउमा सजाइएको सुनको जलप लगाइएको तामाको पाताको केही भाग चोरी भएको छ। यसलाई तोरण पनि भनिन्छ, पुजारीले भने ध्वजापताका सम्बोधन गरेका थिए। ‘चोरी भएको ध्वजापताकाको हिस्सामा गरुड र नागको बुट्टा अंकित थियो,’ उनी भन्छन्, ‘यो ध्वजापताका सय वर्ष पुरानो हुन सक्छ। मत्स्य पुराणका आधारमा भन्ने हो भने यो मन्दिर गोपालवंशको कालखण्डमा स्थापना भएको हुनुपर्छ।’उनका अनुसार, यस घटना सम्बन्धमा प्रहरी प्रशासनसँगै पुरातत्व विभागदेखि गुप्तचर विभागसम्म खबर भइसकेको छ।

मन्दिरको प्राचीनता

Hardik ivf

प्रचलित किंवदन्ती अनुसार, कुनै समय काठमाडौं उपत्यका तलाउको रूपमा थियो। मञ्जुश्रीले खड्गको सहायताले तलाउको पानीलाई निकास दिए। त्यसपछि यो मानव बस्तीका लागि योग्य उपत्यका बन्यो। 

‘मञ्जुश्री उपत्यकामा आउँदा ग्वालासँगै पहिलोपटक मच्छेगाउँको भञ्ज्याङमा बास बसेका थिए,’ पुजारी आचार्य भन्छन्, ‘उनीसँगै आएका ग्वाला मच्छेगाउँ बसे र बस्ती बसाए। बाँकी ग्वाला मञ्जुश्रीसँगै गौशाला गए। कालान्तरमा त्यहाँ पशुपति नाथको मन्दिर स्थापना भयो भने मच्छेगाउँमा मत्स्यनारायण मन्दिर स्थापना भएको किंवदन्ती छ।’

यस्तै उनी अर्को कथा पनि सुनाउँछन्। कथा अनुसार, सत्ययुगका राजा सत्यव्रतले एक साँझ नदीमा तर्पण गर्दै थिए, उनको हातमा सानो माछा प¥यो। राजाले माछालाई पुनः नदीमा राख्न खोजे। त्यही बेला त्यस माछाले भन्यो– म सानो छु, मलाई यहाँका ठूला माछाले खाइदिन्छन्, त्यसैले मलाई कतै सुरक्षित स्थानमा राखिदिनुस्।

राजाले त्यस माछालाई आफ्नो कमण्डलुमा राखे। अचम्म भयो– उनले कमण्डलुमा राखेसँगै माछाको आकार बढ्न थाल्यो र कमण्डलुमै नअट्ने भयो। तब राजालाई आभास भयो– यो सामान्य माछा नभई नारायण हुनुपर्छ। उनले अहिले मस्त्यनारायण मन्दिर रहेको वरपर तीनवटा कुवा खनी माछालाई राखे। यो कथा मत्स्यपुराण र नेपाल महात्म्य पुराणमा समेत उल्लेख भएको पुजारी आचार्य बताउँछन्।

३० वर्षअघि पनि चोरी

मन्दिरकी सुसारे ६० वर्षीया सुर्जेमाया कपालीका अनुसार, यस मन्दिरको मूर्ति ३० वर्षअघि चोरी भएको थियो। ‘त्यतिबेला मन्दिरको मूल मूर्ति, परिसरको गरुड, गरुडको आसन, नारायण तथा शिवलिंग पनि चोरले उठाइसकेको थियो,’ उनी भन्छिन्, ‘तर पछि भेटियो। त्यति बेला मेरो दाइले देखेर चिच्याउनुभएछ, चोरहरूले सामान बाटैमा छाडेर हिँडेछन्।’

उनका अनुसार, त्यतिबेला चोरिएका मूर्तिहरू कुनै बाटोमा त कुनै खेतबारीमा भेटिएका थिए। ‘मन्दिरको अघिल्लोपट्टि रहेको महादेवको शिवलिंग भने भेटिएन,’ उनले भनिन्। 

उनले ३५ वर्षदेखि यस मन्दिरको सरसफाइ गर्दै आएकी छन्। आफ्नो बुवाको निधनपछि आफूले मन्दिरको ख्याल गर्न थालेको उनी बताउँछिन्।

अनुसन्धान भइरहेको छ : प्रहरी प्रशासन

मच्छेगाउँ प्रहरी प्रभागका असई दिनेशकुमार सुनारका अनुसार, मन्दिरको सामान हराएको सूचना पाएसँगै मन्दिरमा पुगी अनुसन्धानलाई तीव्रता दिएको बताउँछन्।  

‘रातमा पूजा गर्ने बहानामा टोपी लगाएको पातलो युवक मन्दिरतर्फ प्रवेश गरेको स्थानीयबाट थाहा पाएका छौँ,’ उनले भने, ‘चोरी एउटा व्यक्तिबाट भयो वा सामूहिक रूपमा भयो भन्ने यकिन गर्न सकिएको छैन। स्थानीयको भनाइका आधारमा विशेषतः लागू औषध दुर्व्यसनीमा परेका युवाको जमातले चोरेको हुनुपर्ने बुझिएको छ।’ मन्दिरमा न्यूनतम सुरक्षाको व्यवस्था नभएका कारण पनि चोरीएको उनी बताउँछन्।

‘मन्दिरमा गेट, सिसी क्यामेरा हुनुपर्छ, जुन न्यूनतम सुरक्षाको आधार हो,’ असई सुनार भन्छन्, ‘हामीले गस्ती गरिरहेका त हुन्छौँ तर मन्दिर परिसरमै मात्र बस्ने कुरा आउँदैन। चोरको बुद्धि न हो, गस्ती पछिको मौका छोपिररहेका थिए होलान्।’ 
 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्