Kathmandu Press

राष्ट्रियताका सवालमा एक ढिक्का छाैँ: प्रचण्ड

भरतपुर, कात्तिक २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन्।....

राष्ट्रियताका सवालमा एक ढिक्का छाैँ: प्रचण्ड

भरतपुर, कात्तिक २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन्। 

नेकपा भरतपुर महानगर वडाकमिटीको मंगलबार आयोजित शपथ ग्रहण कार्यक्रममा प्रचण्डले सीमाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सबैको एकमत भएको बताएका हुन्। ‘जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ। यो गर्वको कुरा हो,’ उनले भने।

 प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उनले बताए। सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ। सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ,’ उनले भने।

उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने बताए। 

अर्को एक प्रसङ्गमा उनले नेकपालाई कमजोर बनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको बताए। प्रचण्डले भोलि बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए।  

यसअघि पराजय भोगेका स्थानामा पनि अब हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवारले जित हासिल गर्ने विश्वास उनको विश्वास छ। उनले भने,‘ पहिले नजितेको ठाउँमा अहिले जित्ने सम्भावना छ। त्यसका लागि हामी एकताबद्ध भएर रात दिन खट्नु पर्छ।’
 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, कात्तिक २६, २०७६