अनसनरत डा. केसीको स्वास्थ्य थप जटिल
डडेल्धुरा, कात्तिक २६ : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।
डडेल्धुरामा ९ दि....
डडेल्धुरा, कात्तिक २६ : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।
डडेल्धुरामा ९ दिनदेखि अनसनरत डा. केसीको रक्तचाप र मुटुमा समस्या देखिएको छ। डडेल्धुरा अस्पतालका चिकित्सक डा. जितेन्द्र कँडेलले डा. केसीको स्वास्थ्य अवस्था जटिल स्थितिमा पुगेको र आइसीयुमा राखेर उपचार गर्नु पर्ने स्थिति आइपुगेको बताए।
‘दिनहुँ डा. केसीको अवस्था बिग्रिँदैछ। आज त मान्छे समेत चिन्न सक्नु भएन,’ उनले भने। अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएको भन्दै सोमबार सरकारले काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पठाएको थियो। तर डा. केसीले काठमाडौं आउन नमानेपछि हेलिकप्टर रित्तै फर्किएको थियो।
नेविसंघको ऐक्यबद्धता
अनसनरत डा. केसीको सत्याग्रहप्रति सुदूरपश्चिम प्रदेश अन्तर्गतका नेविसंघका सात जिल्ला समितिले ऐक्यबद्धता जनाएका छन्। डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै उनीहरुले आन्दोलनलाई निष्कर्षमा पुर्याउन आफूहरुको साथ रहने बताएका छन्।
सात वटै जिल्लाका सभापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा शिक्षामा कालोबजारी र माफियातन्त्र मौलाएकाले डा. केसीले उठाएका माग जायज भएको उल्लेख छ।
समर्थनमा हस्ताक्षर संकलन
डा. केसीको समर्थनमा नागरिक समाजले डडेल्धुराको उग्रतारा मन्दिरमा लागेको मेला हस्ताक्षर संकलन सुरु गरेको छ। हस्ताक्षर संकलनपछि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउने नागरिक समाजले जनाएको छ।






