कास्कीका खेमराजको ट्वीट- ‘प्रधानमन्त्रीज्यू, मेरो जोश सापटी लिएर दिल्लीसँग प्रष्ट कुरा राख्नुहोस्’
काठमाडौं, कात्तिक २६ : नेपाली कांग्रेस कास्की–२ का उम्मेदबार खेमराज पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेस लगायत सबै दलले साथ दिएकाले कालापानी सिमा ....

काठमाडौं, कात्तिक २६ : नेपाली कांग्रेस कास्की–२ का उम्मेदबार खेमराज पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेस लगायत सबै दलले साथ दिएकाले कालापानी सिमा विवादमा दिल्लीसँग तत्काल वार्ता गर्न सुझाव दिएका छन्।
मंगलबारदेखि सामाजिक संजाल ट्वीटरमा जोडिएका उनले दोस्रो ट्वीट गर्दै कालापानीको लालपूर्जा फिर्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्। ‘मेरै उमेरका प्रधानमन्त्रीज्यु लाई आग्रह, कालापानीको लालपुर्जा हाम्रै नाममा ल्याउनु पर्छ’ उनले ट्विटमा लेखेका छन्, ‘कांग्रेस लगायत सारा दलले साथ दिएका छन् तपाई के गर्दै हुनुहुन्छ? मेरो जोश अलिकति सापटी लिनुहोस् अनि दिल्लीसँग प्रष्ट राख्नुहोस् नेपाली दिलमा रहेका कुरा।’
उनले पहिलो ट्विट गर्दै ७० को उमेरमा १७ को जोशका साथ चुनावी मैदानमा आएको पनि उल्लेख गरेका छन्। ‘७० को उमेरमा १७ को जोशका साथ मैदानमा आएको छु’ उनले भनेका छन्, ‘यो उमेरमा जीन्दगीको पहिलो ट्विटका साथ कास्कीका मतदातासँगै देशभरका दिदिबहिनी तथा दाजभाईमा जय नेपालको क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु ।’
लामो राजनीतिक इतिहास बोकेका पौडेल कास्की–२ को उपनिर्वाचनका लागि कांग्रेसका उम्मेदबार हुन्। उनी त्यहाँ दिवंग तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नीसँग चुनाव प्रतिस्पर्धामा छन्। राजनीतिमा बीपी कोइरालाको संगत गरेका पौडेल कास्कीमा त्यागी र निष्ठावान नेताको रुपमा परिचित छन्। सरल जीवनशैलीका उनी यसअघि कुनै उच्च पदका लागि आकाक्षी बनेका थिएनन्।











