शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई शिक्षा मन्त्रालयको १५ दिने म्याद
काठमाडौं, कात्तिक २५ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको म्याद दिएको छ।
....
काठमाडौं, कात्तिक २५ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको म्याद दिएको छ।
सोमबार शिक्षा, विज्ञानतथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिराजमणि पोखरेलले अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने बताए।
यसका लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेको मन्त्री पोखरेलले बताए।
यस अघि पनि शिक्षा मन्त्रालयले तीन महिनाको म्याद दिएको थियो। तीन महिनासम्म शुल्क फिर्ता नपाएपछि देशभरका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्।
काठमाडौं आएका मेडिकल कलेजका विद्यार्थीले माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका छन्। शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने जनाएका छन्।
त्यस्तै, आठ दिनदेखि डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीले पनि विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता माग गरेका छन्। शुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई मुद्दा चलाउनु पर्ने उनको माग छ।











