सीता एयरले चार वटा नयाँ एटीआर विमान ल्याउँदै
काठमाडौं, कात्तिक २५ : सीता एयरले चार वटा नयाँ एटीआर ७२–५०० सिरिजको जहाज ल्याउने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्....

काठमाडौं, कात्तिक २५ : सीता एयरले चार वटा नयाँ एटीआर ७२–५०० सिरिजको जहाज ल्याउने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ जहाज थप गर्न केही महिना अघि अनुमति दिएको थियो। अनुमति पाएसँगै नयाँ एटीआर जहाज खरिदको तयारी गरेको हो।
आन्तरिक उडानमा दुर्गम क्षेत्रमा (पहाडी) मात्रै उडान गर्दै आएको सीता एयरले नयाँ एटीआरबाट तराई र सुगम क्षेत्रमा पनि उडान गर्ने योजना बनाएको छ।
आन्तरिक उडानका सबै क्षेत्रमा उडान गर्ने योजनाअनुसार नयाँ एटीआर विमान ल्याउने तयारी गरिएको सीता एयरका प्रवक्ता घनश्याम आचार्यले बताए। ‘एटीआर जहाज खरिददेखि अन्य आन्तरिक तयारीमा छौं। हाम्रो योजना सन् २०२० भित्र चार वटा नयाँ एटीआर जहाज ल्याउने हो, त्यहिअनुसार, तयारी गरेका छौं,’ प्रवक्ता आचार्यले भने।
सीताले मन्त्रालयमा पाँच वटा एटीआर जहाज थप्नका लागि अनुमति मागेको थियो। तर, मन्त्रालयले चार वटा जहाजका लागि मात्रै अनुमति दिएको हो।
सीताको उडान हालसम्म दुर्गम क्षेत्रमा मात्रै रहेको छ। नयाँ एटीआर जहाजबाट तराईका अधिकाशं विमानस्थल तथा पोखरा उडान गर्ने योजना बनाएको छ।
सीता एयरले सन् २००३ देखि ड्रोनियर–२२८ विमानबाट व्यवसायिक उडानको सुरुआत गरेको थियो। दुर्गम क्षेत्रमा उडानका लागि अहिले सीता एयरसँग चार वटा ड्रोनियर–२२८ विमान रहेका छन्। यि विमानबाट पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा उडान गरिरहेको छ।
एटीआर जहाजबाट बुद्ध र यति एयरलाइन्सले मात्रै उडान गर्दै आएका छन्। बुद्धले एटीआर विमानवाट भारतको बनारस र कोलकात्ता उडान गर्दै आएको छ।
बुद्धसँग ७२ सिट क्षमताको सात र ४२ सिट क्षमताका तीन गरि १० वटा एटीआर विमान छन् भने यतिसँग ७२ सिट क्षमताका पाँच वटा एटीआर विमान रहेका छन्।












-1764753058.png)