डा.केसीको समर्थनमा डडेल्धुरामा बिहानैदेखि प्रदर्शन
डडेल्धुरा, कात्तिक २५ : अनशनरत डा.गोविन्द केसीको समर्थनमा बिहानैदेखि प्रदर्शन सुरू भएको छ। उनका माग पूरा नगरी अन्यत्र सार्न नहुँने भन्दै स्थानीय वासिन....

डडेल्धुरा, कात्तिक २५ : अनशनरत डा.गोविन्द केसीको समर्थनमा बिहानैदेखि प्रदर्शन सुरू भएको छ। उनका माग पूरा नगरी अन्यत्र सार्न नहुँने भन्दै स्थानीय वासिन्दा प्रदर्शनमा उत्रिएका हुन्।
आज डा.केसीको अनशनको आठौं दिन हो। उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ। डडेल्धुरा अस्पतालले स्वास्थ्य अवस्था जटिल बन्न थालेको जनाएको छ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गरी आईसीयूसहितको उपचार सुविधा नभएकाले डा.केसीको स्वास्थ्य अवस्था जटिल बने उपचार गर्न नसकिने जनाएको छ।
डा.केसीको अवस्था जटिल बन्दै गएपछि डडेल्धुरामा उपचार सम्भव नभएको डडेल्धुरा अस्पतालका डा.जितेन्द्र कडेलले बताए। डा.कँडेलका अनुसार, डा.केसीको रक्तचाप कम भएको, मुटुको चालमा बृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटी मृगौलामा समस्या देखिएको छ।
उनको स्वास्थ्यमा समस्या आउन थालेपछि प्रादेशीक अस्पताल धनगढी लग्न खोजिएको छ। स्थानीय वासिन्दाले भने डा.केसीका माग पूरा गर्नु पर्ने भन्दै प्रदर्शन थालेका हुन्। माग पूरा नगरी अन्यत्र लग्ने नहुने उनीहरुको भनाइ छ।
डा.केसीलाई धनगढी लग्ने नेपाली सेनाको हेलिप्कटर डडेल्धुरा पुगेको छ। त्यस्तै, डा.केसीलाई धनगढी सार्न र आन्दोलन कसरी साम्य पार्ने भन्नेबारे छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ।











