डा.केसीको समर्थनमा डडेल्धुरा आन्दोलित, सरकारी गाडी संचालनमा रोक
डडेल्धुरा, कात्तिक २४ : सात दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरा आन्दोलित भएको छ। स्थानीय वासिन्दाले आज सरकारी सवारी साधन संचालनमा रोक ....
डडेल्धुरा, कात्तिक २४ : सात दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरा आन्दोलित भएको छ। स्थानीय वासिन्दाले आज सरकारी सवारी साधन संचालनमा रोक लगाएका छन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.केसी सात दिनदेखि डडेल्धुरामा अनशन बसिरहेका छन्। सरकारले वास्ता नगरेको भन्दै स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन्।
आज बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले बताए। बिहान ८ देखि साँझ ५ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले बताए।
त्यस्तै, स्थानीय वासिन्दा, उद्योगी, व्यवसायीले डडेल्धुरा सदरमुकाम बागबजार बन्द गर्ने भएका छन्। अपराह्नदेखि स्वस्फुर्त रुपमा बजार बन्द गर्न लागिएको वाणिज्य संघका अध्यक्ष भट्टले बताए।
स्थानीय वासिन्दा, उद्योगी, व्यवसायी, राजनीतिक दल तथा नागरिक समाजको अगुवाइमा दैनिक र्याली निकालिदै आएको छ।
डा.केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। उनको रक्तचापमा समस्या देखिएको जनाएको छ।






