Kathmandu Press

प्रधानमन्त्रीका सल्लाहकार : केहीकाे राजीनामा, केही बाँकी

काठमाडौं, कात्तिक २४ :  प्रधानमन्त्री केपी शर्मा ओलीको  सचिवालयका सल्लाहकार र सहयोगीमध्ये केहीले राजीनामा गरिसकेका छन् भने केही बुझाउने तयारीमा....

प्रधानमन्त्रीका सल्लाहकार : केहीकाे राजीनामा, केही बाँकी
फाइल फोटो

काठमाडौं, कात्तिक २४ :  प्रधानमन्त्री केपी शर्मा ओलीको  सचिवालयका सल्लाहकार र सहयोगीमध्ये केहीले राजीनामा गरिसकेका छन् भने केही बुझाउने तयारीमा रहेका छन् । 

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार, अहिलेसम्म प्रेस सल्लाहकार कुन्दन अर्यालले राजीनामा बुझाइसकेका छन् । त्यस्तै, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी र प्रेसविज्ञ रामशरण बजगाईंले राजीनामा बुझाइसकेका छन् । 

तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने राजीनामा नगरेको बताए । 'के तपाईंलगायत प्रधानमन्त्रीका सबै सल्लाहकारले राजीनामा बुझाएको भन्ने सही हो ?’ भन्ने जिज्ञासामा रिमालले सोझो जवाफ दिए, ‘हैन ।’

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले काठमाडौंप्रेस सँग कुरा गर्दै भने, ‘मसँग चाहिँ कसैले पनि राजीनामा मागेको छैन । अरु सल्लाहकारको बारेमा के हो, मलाई थाहा भएन ।’

विदेश मामिला सल्लाहकार भट्टराई आजै अमेरिका प्रस्थान गर्दै छन् । ‘एसियन राजनीतिक नेताहरू र अमेरिकी सांसद्बीच नोभेम्बार १३–१४ मा अमेरिकाको राजधानी वासिङ्गटन डीसीमा आयोजना हुने बैठकमा सहभागी हुन त्यसतर्फ जाँदैछु’, उनले आफ्नो अमेरिका भ्रमणबारे ट्वीट गरे, ‘यो यस किसिमको पहिलो बैठक हो र यसमा विभिन्न विषयहरूमा छलफल हुन्छ । यसपटक भने व्यापार उर्जाका विषयमा केन्द्रित हुने छ ।’

आफूले राजीनामा गरिसकेको पुष्टि गर्ने तर नाम उल्लेख गर्न नचाहने एक सल्लाहकारले भने सबैसँग राजीनामा मागिएको बताए । ‘हामी मिडिया क्षेत्रका दुई–तीन जना मान्छेलाई मात्र हटाउने हो भने यत्रो हल्ला हुन्थ्यो र ?’, ती सल्लाहकारले प्रश्न गरे । उनले सबै सल्लाहकारसँग राजीनामा मागेको उनले दाबी गरे । प्रधानमन्त्रीको सचिवालयमा रहेका १३ जनालाई नै राजीनामा मागिएको उनको दाबी छ । 

प्रधानमन्त्रीको निजी सचिवालयमा यसबाहेक प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, आईटी सल्लाहकार असगर अली लगायत छन् । बज्राचार्यलाई भने राजीनामा मागे पनि पुनः नियुक्त गर्ने निश्चित रहेको तर केही ‘ठूला सल्लाहकार’ को भने पुनर्नियुक्तिको संभावना नरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, कात्तिक २४, २०७६