Kathmandu Press

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सबै सदस्यले राजीनामा दिने

काठमाडौं, कात्तिक २३ : प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा कार्यरत सबै सदस्यहरुले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री ओलीको निर्देशन अनुसा....

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सबै सदस्यले राजीनामा दिने
फाइल

काठमाडौं, कात्तिक २३ : प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा कार्यरत सबै सदस्यहरुले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री ओलीको निर्देशन अनुसार सचिवालयमा कार्यरत सबै सदस्यहरुले राजीनामा दिन लागेका हुन्। 

पार्टीभित्र र बाहिरबाट सचिवालयका विषयमा चर्को गुनासो र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सदस्यहरुले मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका छन्।

 प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायत सचिवालयमा कार्यरत सबैले राजीनामा दिने छन्।

‘आवश्यक परे फेरि नियुक्त गर्न सक्ने तर अहिलेका लागि भने राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ,’ सचिवालयमा कार्यरत एक सदस्यले भने।  

पछिल्लो समय अस्वस्थ रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनको पनि तयारी गरिरहेका छन्। 

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, कात्तिक २३, २०७६