Kathmandu Press

क्यान्भासमा उत्तरगया : मनमोहक फलाखु र त्रिशूली नदी 

उत्तरगया (रसुवा), २३ कात्तिक : कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट। ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धा....

क्यान्भासमा उत्तरगया : मनमोहक फलाखु र त्रिशूली नदी 

उत्तरगया (रसुवा), २३ कात्तिक : कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट। ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान। भित्र्याइसकेको खेतका टम्म मिलेका सुख्खा गरा। माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशूली। 

हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौँबाट कलायात्रमा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए। क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया) का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उनको मन तान्यो। बेत्रावतीको भीमसेनथानबाट क्यामरामा कैद भएको नुवाकोटको दुप्चेलाई एक्रेलिकको माध्यामबाट उनले क्यानभास रङ्ग्याइदिए।

उत्तरगयास्थित त्रिशूली र फलाखु खोलाको सङ्गम किनारबाट चित्रकार राधेश्याम कर्माचार्यले पाखा, पखेरा र ढुङ्गासँग पौँठेजोरी खेल्दै नागबेली भएर छङछङ बग्दै गरेको त्रिशूलगङ्गालाई क्यान्भासमा उतार्न चुकेनन्। वैदिकपुराण श्रीमतभागवतको हिमावत्खण्डमा वर्णित गोसाइँकुण्डबाट बग्ने त्रिशूलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिने ठाउँ उत्तरगयाको रुपमा प्रख्यात छ।

भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ की छैन भनेर सोध्ने चलन रहेकाले पनि यसको महत्व धेरै छ भन्न सकिन्छ। नेपाली पर्वमा विभिन्न जिल्लाबाट आएर व्रतालुले स्नान गर्ने ठाउँमा ‘रसुवा कलायात्रा’ लिएर यसपाली राजधानीबाट चित्रकारहरुको टोली पुगेको हो।

ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे। कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशूलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा उने। उनीहरुको चित्रमा त्रिशूलीको छालमात्रै होइन काउले, भाल्चे र माने गाउँको दृष्यसमेत कैद गरेका थिए। केहीमाथि दृश्य उतार्दै थिए अर्का कलाकार दिवेश प्रधान। गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दैगरेको त्रिशूलीको बहावमा उहाँको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले। 

तल्लो भेगमा हुनुहुन्थ्यो कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे। त्रिशूलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल र यहाँ रहेको ठूलाूुला ढुङ्गासहितको प्राकृतिक दृष्य उहाँहरुको क्यान्भासमा पर्‍यो। कलाकार प्रजापति भन्छन्, “ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाई भित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो।” 

त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशूलीसँगै देखिने माथिल्लो पहाडी बस्ती क्यानभासमा उतार्न कूचि चलाउँदै हुनुहुन्थ्यो कलाकार झलक केसी। माने गाउँलाई पुष्टभूमिमा राखेर त्रिशूलीको बहावलाई कैद गरेका केसी त्रिशूलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएका अनुभव सुनाउँछन्।

अलीमाथि फलाखु खोलाको बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भामा दृष्य बनाए। क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो। कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन।

उनले हरिबोधनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाले। कञ्चन फलाखु खोला र त्रिशूलीको मिलन विन्दु, त्यसमाथि बनेको झोलुङ्ग् पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उनको क्यान्भासमा स्थान पायो। लक्ष्मीप्रसाद खतेजा र तथा गत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उतारे।  

ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान शिवले कालकुट विष (हलाहल) सेवन गरेका र कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको वेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविश्वास छ। त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो। 

नेपाल तिब्बतबीचको युद्ध रोक्न विसं १८४९ मा भएको ऐतिहासिक बेत्रावती सन्धीले यसको ऐतिहासिक महत्वको स्मरण गराउँछ। योगी नरहरीनाथले विसं २०४९ मा कोटीहोम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन्। यतिका महत्व बोकेर पनि उचित प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकीय महत्व ओझेलमा परेकाले यहाँको परिचय विश्वमा पुर्‍याउन चित्रकला कार्यशाला गरिएको ‘रसुवा कलायात्रा’का स्थानीय संयोजक शशीकुमार डङ्गोल बताउँछन्। उनले वर्षाैदेखिएको आ–आफ्नो सपना पूरा भएको बताए। 

विगत एक वर्षदेखि हरेक शनिबार स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएको फेसबुकमार्फत जोडिएका कलाकारको एक समूहले नजिकिँदो नेपाल भ्रमण वर्षलाई केन्द्रीत गरेर पछिल्लो समया सम्पदा क्षेत्रमा चित्रकला कार्यशाला गर्दै आएको छ। चित्रको माध्यामबाट पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले अहिले धार्मिक, ऐतिहासिक, पुरातात्विक र सम्पदा क्षेत्रमा पुगेर चित्रकला कार्यशाला आयोजना गरी प्रदर्शनसमेत गरिँदै आएको कलाकार दिवेश प्रधान बताउँछन्। 

उनले बेत्रावती र कालिकास्थानमा बनाइएको चित्रहरुलाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने बताए। बच्चाले लेख्न पढ्न नजान्ने बेलामा पनि चित्र कोर्न सक्छ। भावना व्यक्त गर्ने माध्याम हो चित्रकला। अभिलेखको महत्वपूर्ण माध्याम भएकाले पनि एउटा देशका लागि चित्रकला अति नै महत्वपूर्ण रहेको प्रधान बताउँछन्। अझै पनि धेरै अध्ययन चित्रकलाबाटै हुने गरेको उनले बताए।  

टोलीले यसअघि भोटेकोसी सभ्यता शीर्षकमा सिन्धुपाल्चोकमा चित्रकला कार्यशाला गरिसकेको छ। उक्त समूहले उपत्यकाका तीनै जिल्लामा शङ्खलाबद्ध रुपमा कार्यशाला गर्दै आएको छ। त्यसैको निरन्तरता हो ‘रसुवा कलायात्रा’। नियमित शनिबारीय स्थलगत चित्रकला कार्यशाला शृङ्खला अन्तर्गत रसुवाको कालिका गाउँपालिकामा पनि कार्यशाला आयोजना गरिएको रसुवाका कलाकार डिल्लीराम घिमिरेले बताए। 

रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल काठमाडौँबाट आएका कलाकारले दृष्य चित्रमा उतारेर बेत्रावतीको परिवेषलाई विश्वमा पुर्‍याउने प्रयास गरेकोमा सराहना व्यक्त गरे। यस्ता कार्यक्रमले कलाकारमा निखारता आउने र स्थान विशेषको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास कलाकारको छ। रासस


 

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, कात्तिक २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्