विद्युत महसुल बढाउने कुलमानको तयारी, २० देखि ३० प्रतिशतसम्म बढ्ने
काठमाडौं, कात्तिक २२ : नेपाल विद्युत प्राधिकरणले विद्युतको महसुल बढाउने तयारी गरेको छ।
प्राधिकरणले २० देखि ३० प्रतिशतसम्म विद्युत....
काठमाडौं, कात्तिक २२ : नेपाल विद्युत प्राधिकरणले विद्युतको महसुल बढाउने तयारी गरेको छ।
प्राधिकरणले २० देखि ३० प्रतिशतसम्म विद्युत महसुल बढाउने गरी नयाँ विद्युत महसुलदर प्रस्ताव गरेको हो। केही ठाउँमा सहुलियत दिने गरी फरक–फरक महसुलदर लागू गर्ने गरी प्रस्ताव तयार पारिएको प्राधिकरण स्रोतले जनाएको छ।
प्राधिकरणले विद्युत खपत बढाउने र आधारभूत नागरिकलाई थप सेवा दिने लक्ष्यका साथ नयाँ महसुल दर लागू गर्ने तयारी गरेको हो। प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर नयाँ महसुल कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पठाइएको छ।
आयोगले स्वीकृति दिएमा नयाँ महसुलदर कार्यान्वयनमा जानेछ। यसअघि प्राधिकरणले तीन वर्षअघि पनि महसुलदर बढाएको थियो। प्राधिकरणको प्रस्ताव अनुसार नै महसुल समायोजन भए घरायसी ग्राहकले न्यूनतम १०० रुपैयाँ तिर्नुपर्नेछ। हाल ८० रुपैयाँ तिर्दै आएका ग्राहकलाई थप २० रुपैयाँ बढी पर्नेछ।
प्राधिकरणले कृषि क्षेत्रमा सिँचाइको मात्रा बढाउन सस्तो दरमा विद्युत उपलब्ध गराउने तयारी स्वरुप प्रतियुनिट ४ रुपैयाँ ३० पैसामा विद्युत उपलब्ध गराउनेछ।
प्राधिकरणले हाल पाँच एम्पियरको विद्युत मिटर जडान गरेका ग्राहकले २० युनिटसम्म विद्युत खपत गर्दा ८० रुपैयाँ तिर्नुपर्छ। अब भने ती ग्राहकले १ सय रुपैयाँ तिर्नुपर्ने छ।
विद्यमान दर अनुसार १५ एम्पियरको मिटर जडान गर्ने उपभोक्ताले ३६५ रुपैयाँ तिर्दै आएकोमा अब न्यूनतम ४४० रुपैयाँ तिर्नुपर्ने छ।
थ्री फेज मिटर जडान गर्ने ग्राहकले १० केभीसम्म १४ रुपैयाँ ४० पैसा बराबरको महसुल तिर्नु पर्नेछ भने ग्रामीण तथा साना उद्योगले प्रतियुनिट ७ रुपैयाँ ८० पैसा र व्यापारिक प्रतिष्ठानले ११ रुपैयाँ २० पैसा तिर्नुपर्ने छ।
निर्माणाधीन आयोजनाहरु समयमा सम्पन्न भएमा चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप १ हजार ३०० मेगावाट विद्युत थप हुनेछ। यस वर्षको ६ महिनामा मात्रै प्राधिकरणको प्रणालीमा १५० मेगावाट विद्युत थप भइसकेको छ।






