Kathmandu Press

सीको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, कात्तिक २२ :  सन् २०१९ को दश महिनासम्ममा पौने दश लाख विदेशी पर्यटकले नेपाल भम्रण गरेका छन्। जनवरीदेखि अक्टोबरसम्मको अवधिमा ९ लाख ७....

सीको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढ्यो
फाइल

काठमाडौं, कात्तिक २२ :  सन् २०१९ को दश महिनासम्ममा पौने दश लाख विदेशी पर्यटकले नेपाल भम्रण गरेका छन्। जनवरीदेखि अक्टोबरसम्मको अवधिमा ९ लाख ७५ हजार ५ सय ५५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ।

जुन गत वर्षभन्दा ८ प्रतिशतले मात्रै बढी हो।  यसअघि सन् २०१८ को दश महिनामा ९ लाख ३ हजार ५ सय ३९ विदेशी पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै नेपाल भ्रमणमा आउनेमा भारतीय पर्यटक रहेका छन्। यो अवधिमा हालसम्म १ लाख ६९ हजार ९ सय ५२ भारतीय पर्यटक नेपाल आएका छन्।

यस्तै, नेपाल भ्रमणमा आउने दोस्रो स्थानमा चिनियाँ पर्यटक रहेका छन्। चीनबाट यो अवधिमा अहिलेसम्म १ लाख ३४ हजार नागरिकले नेपाल भ्रमण गरेका छन्।

दश महिनामा सार्क मुलुकहरुबाट २ लाख ५० हजार २ सय ४३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यसअघि गत वर्षभन्दा २ लाख ४० हजार एक सय पर्यटकले नेपाल भ्रमण गरेका थिए।

त्यस्तै,  अन्य एसियाली मुलुकबाट २ लाख ५९ हजार ४ सय ४५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष यो समयमा २ लाख ३३ हजार ५ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

त्यस्तैगरी, युरोपियन मुलुकबाट १ लाख ९९ हजार पर्यटक नेपाल भ्रमण आएका छन्। गत वर्ष पनि सोही हाराहारी १ लाख ९८ हजार युरोपेली पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

अमेरिकन मुलुकबाट पनि दश महिनामा ९२ हजार २ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष उक्त क्षेत्रबाट ८८ हजार २ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ पर्यटक बढे

अक्टोबर महिनामा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन्। चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढेको हो।  

अक्टोबर महिनामा १५ हजार ३७ चिनियाँ नेपाल भम्रणमा आउँदा भारतबाट १२ हजार ७ सय ७ जना नेपाल भ्रमणमा आएका छन्। अक्टोबर महिनामा मात्रै १ लाख ४३ हजार ८ सय ७० पर्यटक नेपाल भ्रमणमा आएका छन्। जुन संख्या गत वर्षको अक्टोबर महिनाको भन्दा १० प्रतिशत बढी हो। 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, कात्तिक २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्