लिपुलेक र कालापानीको समस्या हल गर्न कूटनीतिक पहल आवश्यक : भट्ट
काठमाडौं, कात्तिक २२ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी ....

काठमाडौं, कात्तिक २२ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेकाले भारतसँगको विवाद कुटनीतिक तवरले हल गर्नु पर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्याक्रममा उनले भने,‘भारतले नयाँ नक्सा प्रकाशनमा ल्याएपछि यो अहिलेको जल्दोबल्दो बहसको विषय बनेको छ। अहिले सडक तातिएको छ। लिपुलेक र कालापानी नेपालकै हो। अहिलेसम्म सरकारको नेतृत्व गरेकाहरुले यो कुरा भारतसँग अडानका साथ राख्न सकेनन्। भारतसँग नेपालले कूटनीतिक पहल गर्नुपर्छ।’
उनले यो विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने पनि माग गरे। उनले भने,‘यो विवाद कूटनीतिक संयन्त्रबाट हल गरिनुपर्छ। नेपालले कूटनीतिक टेबुलमा आफ्नो ऐतिहासिक तथ्यांक पेश गर्नुपर्छ। सरकारले कूटनीतिक कौशलता पेश गर्नुपर्छ। २०७२ सालमा भारत र चीनबीच लिपुलेकबारे भएको समझदारीको विरोधमा पहिले मैले बोलेको थिएँ। हामीले कमजोरीबाट पाठ सिक्नुपर्छ। नागरिक समाज, राजनीतिक दल, सरकार एकजुट भएर कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ। सिमा विवाद समाधान गर्नुपर्छ। सडकमा आएर उफ्रिएर हुँदैन।’
भारतको विरोध गर्दै सडकमा आउनुको अर्थ नभएको उनको तर्क छ। भट्टले भने,‘हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ। प्रधानमन्त्री–प्रधानमन्त्रीबीच हटलाइनमा कुरा हुनुपर्यो। विशेषदूत पठाउनुपर्यो। त्यहाँको राजदूतलाई सक्रिय बनाउनुपर्यो। भारतीय राजदूतलाई स्पष्टिकरण लिनुपर्छ। हिम्मत गर्नुपर्यो।’











