उपल्लो मुस्ताङमा बिहानैदेखि हिमपात
मुस्ताङ, कात्तिक २२ : उपल्लो मुस्ताङमा आज बिहानदेखि हिउँ पर्न थालेको छ। यो वर्षको पहिलो हिमपात हो।
शुक्रबार बिहान दामोदरकुण्ड लोघेकर र लोमान....

मुस्ताङ, कात्तिक २२ : उपल्लो मुस्ताङमा आज बिहानदेखि हिउँ पर्न थालेको छ। यो वर्षको पहिलो हिमपात हो।
शुक्रबार बिहान दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए।
उनको अनुसार, चराङमा आज बिहानसम्म पानी परिरहेको थियो। आज बिहानै हिउँ पनि परेको अध्यक्ष ठकुरीले बताए। डाँडाहरुमा बाक्लो हिउँ जमेको छ। बस्तीमा दुई–तीन सेन्टिमिटर जति बाक्लो हिउँ जमेको उनले बताए।
हिउँ पर्न थालेपछि उपल्लाे मुस्ताङमा चिसाे बढेकाे छ। जसले गर्दा यहाँकाे जनजीवन प्रभावित भएकाे छ। चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन्। उनीहरू पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा झरेका छन्।
घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा फागुनमा मात्रै फर्किने गरेका छन्। चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना पनि प्रभावित भएका छन्। कामकाज रोकिएको आयोजनाले जनाएको छ।











