गाउँका होमस्टेदेखि पाँचतारे होटलसम्म विशेष छुट
काठमाडौं, कात्तिक २२ : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले पर्यटकलाई स....

काठमाडौं, कात्तिक २२ : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले पर्यटकलाई सेवा–सुविधामा छुटको घोषणा गरेका छन्।
उनीहरूले भ्रमण वर्षका लागि पर्यटनसँग सम्बन्धित क्षेत्रमा दिने सेवा–सुविधामा छुटको योजना सार्वजनिक गरेका छन्। होटल एसोसिएसन अफ नेपाल (हान) र होमस्टे एसोसिएसन अफ नेपाल (होसान)ले छुटको घोषणा गरिसकेका छन् भने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले तयारी गरिरहेको छ। उनीहरूले पर्यटकका लागि १५ देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन्।
देशभरका होटलमा छुट
होटल एसोसिएसन अफ नेपाल (हान)ले देशभरका पाँचतारेसम्मका होटलमा वर्षभर्री छुट दिने घोषण गरेको छ। हानले कोठामा ३० प्रतिशत र रेष्टुरा (खाना) मा १५ प्रतिशत छुट दिने भएको छ।
सातै प्रदेशमा सञ्जाल रहेको हानमा दुई हजारभन्दा बढि होटल तथा रेष्टुराहरू आवद्ध छन्। हानमा आवद्ध भएका होटलले सरकारको योजनालाई सहयोग गर्ने हान सचिवालयले जनाएको छ।
‘हाम्रो तर्फबाट भ्रमण वर्षलाई सहयोग गर्न तयार छौं,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने। देशभरका होटलमा २० लाख पर्यटक राख्न सक्ने क्षमता भएको उनले बताए। सन् २०२० मा झन धेरै पर्यटकलाई सेवा प्रदान गर्न सकिने उनको भनाइ छ।
हानको तर्फवाट सम्पूर्ण तयारी गरिएको भए पनि पूर्वाधार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य पर्यटकीय गन्तव्यमा पुग्ने बाटोघाटो राम्रो नहुँदा पर्यटकलाई समस्या हुन सक्ने उनको चिन्ता छ।
होमस्टेमा पनि पर्यटकलाई सहुलियत
होमस्टेको छाता संगठन होमस्टे एसोसिएसन अफ नेपाल (होसान)ले पनि सरकारको योजनालाई सहयोग गर्ने जनाएको छ। गत महिना होसानको बैठकले देशैभर सञ्चालन भएका होमस्टेमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।
होसानका अध्यक्ष केशव बडालले सरकार तथा हाल स्थानीय तहमा दर्ता भएका सम्पूर्ण होमस्टेले नेपाल भ्रमण वर्षभरि छुट दिने बताए। ‘होमस्टेअनुसार दररेट तथा सेवासुविधा फरक–फरक छ। एउटा होमस्टेमा गएका पर्यटकले गरेको खर्चका आधारमा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छौं,’ बडालले भने।
अहिले देशभर होसानसँग करिब तीन सय होमस्टे दर्ता छन् भने सरकारसँग करिव ६ सय होमस्टे आवद्ध रहेका छन्। होसानका अनुसार हाल देशका ५७ जिल्लामा होमस्टे सञ्चालनमा छन्।
टानले अर्को साता निर्णय गर्दै
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले पनि नेपाल भ्रमण वर्षलाई सहयोग स्वरुप ट्रेकिङ एजेन्सी र पर्यटकलाई छुट दिने तयारी गरेको छ। टानको आगामी बैठकले सहयोगको निर्णय गर्ने टान सचिवालयले जनाएको छ।
सरकारको योजनालाई सफल पार्न पर्यटनसँग सम्बन्धित हान, होसान तथा टानले सेवासुविधामा छुट दिने भएपनि सरकारी तवरबाट भने कुनै निर्णय भएको छैन। नेपाल भ्रमण वर्ष सचिवालय प्रचारप्रसारमा लागेको भएपनि पर्यटकीय क्षेत्रलाई लक्षित गरि पूर्वाधार निर्माणतिर पनि ध्यान दिएको देखिँदैन।












-(7)-1765197040.jpg)