Kathmandu Press

एन्फा नेतृत्वमा व्यक्ति मात्र होइन, प्रवृत्ति र नियत पनि ‘चेन्ज’ हुनुपर्छ

केवल संस्थाको इमानदार सिपाहीको रूपमा संस्थाको हितविपरीत निर्णय हुँदा आवाज उठाइरहेको थिएँ। फुटबल, खेलाडी, क्लब, जिल्ला र खेलकुदका संघलगायत जजसले मलाई विश्वास गरेर समितिमा पठाउनुभएको थियो उहाँहरूको पक्षमा बोलिरहेको थिएँ, न कि एन्फाको विपक्षमा।
एन्फा नेतृत्वमा व्यक्ति मात्र होइन, प्रवृत्ति र नियत पनि ‘चेन्ज’ हुनुपर्छ

काठमाडाैं, असार ५ : अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि असार ६ गते सोमबार निर्वाचन हुँदैछ। एन्फा नेतृत्वका लागि तीन उम्मेदवारमध्ये एक हुन्, पंकजविक्रम नेम्वाङ। नेम्वाङले एन्फा नेतत्वका लागि मुख्य प्रतिस्पर्धा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पासँग गर्नुपर्नेछ।

एन्फामा दुई दशक बिताएका नेम्वाङ ‘चेन्ज एन्फा’को नारासहित एन्फाको नेतृत्व लिने दौडमा छन्। वर्तमान कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ एन्फाभित्र प्रतिपक्षीका रूपमा परिचित छन्। एन्फा अध्यक्षका दाबी गरिरहँदा उनले ‘अधिकारको विकेन्द्रीकरण गर्ने, ग्रासरुट फुटबललाई वडासम्म विस्तार गर्ने, तीनवटै डिभिजनको राष्ट्रिय लिग, कम्तीमा चारवटा कृत्रिम घाँसे मैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

पारिवारिक वातावरणले नै फुटबलसँगको निकटता बढेको बताउने नेम्वाङ निजी खर्चमा विश्वकप हेर्न स्टेडियमसम्म पुगेका छन्। एन्फा निर्वाचन र फुटबलको सेरोफेरोमा रहेर अध्यक्षका प्रत्यासी पंकजविक्रम नेम्वाङसँग काठमाडौं प्रेसका लागि निर्वान लुईटेल र महेश कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

Hardik ivf

अहिले एन्फा निर्वाचनको सम्मुखमा छ। एन्फामा दुई दशक बिताएपछि तपाईं नेतृत्व लिन अग्रसर हुनुभएको छ, आफूलाई किन अध्यक्षका लागि योग्य छु जस्तो लाग्छ ? के छन्, तपाईंका योजना र एजेन्डा ?

तपाईं आफैंले भन्नुभयो, म दुई दशकदेखि एन्फामा सक्रिय छु भनेर। त्यो पनि नेतृत्व गर्न योग्य छु भन्ने एउटा आधार हो। अर्को कुरा, नेपाली फुटबलको विकास गर्न सक्षम छु जस्तो लाग्छ, त्यसैले उम्मेदवारी दिने निर्णय गरेको हुँ।

मेरो मुख्य कुरा नै अधिकारलाई केन्द्रीकृत गर्दिनँ भन्ने हो। विभिन्न उपसमिति छन्, तिनीहरूलाई पूर्ण अधिकार दिएर, जिम्मेवारीबोध गराएर अधिकारको बाँडफाँट गर्नेछु। जसले सामूहिक नेतृत्व गर्न सक्ने अवस्था आउनेछ। एन्फाको अध्यक्ष एक जना भए पनि सबैले आफ्नो ठाउँबाट अधिकार सम्पन्न भएर अगाडि नबढेसम्म फुटबलको सर्वाङ्गीण विकास सम्भव छैन। ओझेलमा परेका क्षेत्रलाई ध्यानमा राखेर बजेटको बाँडफाँट गर्नेछु। एन्फको सचिवालयलाई चुस्तदुरुस्त र समयसापेक्ष बनाउने कुरा पनि मेरो प्राथमिकतामा छ।

नेपाली फुटबलको मुख्य समस्या ग्रासरुटको खेल हो। मेरो फोकस पनि त्यसैमा हुनेछ। ग्रासरुट फुटबललाई वडासम्म विस्तार गरेर प्रदेश र पालिकालगायत स्थानीय सरकार र स्थानीय क्लबहरूसँग सहकार्य गरेर युथ एकेडेमी सञ्चालन गर्दै महिला–पुरुष गरेर कम्तीमा ५० वटा युथ टिम बनाउने योजना छ। यसले राष्ट्रिय टिममा नयाँ खेलाडी ल्याउन सजिलो बनाउनेछ भने टिममा जेनेरेसन ग्याप पनि हुनेछैन।

एकाधबाहेक काठमाडौंका क्लबसँग अभ्यासका लागि आफ्नो मैदान छैन। अभ्यास नगरेसम्म खेलको स्तर सुध्रिँदैन। त्यसका लागि कम्तिमा चारवटा कृत्रिम घाँसे मैदान बनाएर ३–४ वटा क्लबले वर्षभरि संयुक्त रूपमा प्रशिक्षण गर्न पाउने व्यवस्था मिलाउनेछु।

तस्बिर : कल्याण थापामगर ।

लिग बलियो छैन, त्यसको स्तर बढाउन विभिन्न कार्यक्रम ल्याउनु छ। राष्ट्रिय लिग पनि रोकिएको छ। ‘ए’, ‘बी’ र ‘सी’ तीनवटै डिभिजनमा राष्ट्रिय लिग आयोजना गर्ने योजना छ। लिग बलियो नभएसम्म राष्ट्रिय टिम बलियो हुँदैन, त्यसैले लिग मेरो प्राथमिकतामा छ। साथै, राष्ट्रिय टिममा पनि बजेट र कार्यक्रम थप गरेर अझै राम्रो बनाउनु छ।

‘चेन्ज एन्फा’को नारा लिएर तपाईंले अध्यक्षमा दाबेदारी दिनुभएको छ। दुई दशक एन्फाको कार्यसमितिमा रहनुभयो, एन्फामा केके ‘चेन्ज’ गर्न आवश्यक देख्नुहुन्छ ?

पहिलो कुरो त जो नेतृत्वमा पुग्छन्, उनीहरूको सोच, प्रवृत्ति, नैतिकता र कार्यशैली चेन्ज हुनुपर्छ। नेतृत्वमा व्यक्ति मात्र चेन्ज भएर हुँदैन, उनीहरूको प्रवृत्ति र नियत पनि चेन्ज हुनुपर्छ। आफ्नो पक्षको मात्र होइन, सबैको आवाज सुनेर सबैलाई समेटेर लैजान सक्ने मान्छे चाहिएको छ, जुन अहिले छैन। त्यसलाई चेन्ज गर्नु छ।

अघिल्लो चुनावमा पनि ‘चेन्ज एन्फा’कै नारा लिएर तपाईंहरू नेतृत्वमा आउनुभएको थियो। अहिले फेरि त्यही नारा लिएर आफंै अध्यक्ष बन्न खोज्दै हुनुहुन्छ, बीचमा के भयो? एन्फालाई किन चेन्ज गर्न सक्नुभएन?

बीचमा के भयो भन्दा पनि हामीले त्यो नारालाई मूलमन्त्र बनाएर आएका थियौं तर सबैका लागि त्यस्तो हुँदो रहेनछ। धेरैका लागि भनौं या नेतृत्वका लागि, त्यो नारामै सीमित भयो। नाराअनुसारको कार्य भएन। त्यसबेला नयाँ समिति बनाएपछि हामीले विधान संशोधन गर्यौं, आर्थिक नियमावली र कार्यविधि बनायौं, कर्मचारी नियमावाली बनायौं। तर सबैबाट त्यसको पालना भएन। त्यो कागजमै सिमित भयो। हामीले एन्फाको विधान र नियम त परिवर्तन गर्यौं तर कार्यशैली र कार्यसम्पादन चेन्ज गर्न सकेनौं। त्यसले हाम्रो एकतामा पनि खलल पुर्‍यायो।

मलगायत केही थियौं, जसले आफैंले बनाएका नियमहरूको अक्षरशः पालना हुनुपर्छ भनेर निरन्तर आवाज उठायौं, विरोध गर्यौं। तर हामी अल्पमतमा थियौं, हाम्रो आवाज नेतृत्वले सुनेन।

फुटबलको पर्याय हुनुपर्ने राजनीतिको चाहिँ पर्याय भयो भनेर एन्फामाथि बारम्बार आरोप लागिरहन्छ। एन्फाको खास समस्या के हो र यसमा दोषी को हो?

दोषी नेतृत्व हो, एन्फाको समिति हो। म पनि हुँ, हामी सबै हौं। अल्पमतमा परेर हाम्रो आवाज सुनिएन। तर त्यसो भन्दैमा आफूलाई चोख्याएर अलग्गै राख्न मिल्दैन। त्यो समस्याबाट भाग्नु मात्र हुनेछ। अनि दोषारोपण गरेर मात्र पनि समस्या समाधान हुँदैन।

अल्पमतमा परे पनि हामीले गलत निर्णय हुँदा नोट अफ डिसेन्ट लेख्यौं, सही निर्णयको खुलेर समर्थन पनि गरेका छौं। समयसमयमा एन्फाको समितिले संस्थाको मर्मविपरीत, नेपाली फुटबलको मूल्यमान्यताविपरीत, खेलाडी, रेफ्री, संघसंस्थालगायत सरोकारवालाहरूको अहितमा निर्णय गर्दा हामीले विरोध गर्न छाडेनौं। तर कार्यान्वयन गर्ने ठाउँमा जो थियो– अध्यक्ष, महासचिवलगायत जोजो थिए, उनीहरूले हाम्रो आवाज सुन्न आवश्यक ठानेनन्। तर सहीलाई सही र गलतलाई गलत भन्न हामीले छाडेनौं। हरेकपटक एन्फालाई झक्झकाउन विरोधका कार्यक्रम जारी राख्यौं।

सायद त्यही भएर पनि तपाईंलाई ‘एन्फाको प्रतिपक्षी’ भन्छन्। समितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ तर समितिकै निर्णयको विरोध गरिरहनुभएको हुन्छ। अध्यक्ष बन्नुभयो भने तपाईंका निर्णयको विपक्षमा पनि पक्कै आवाज उठ्नेछन्। ती आवाजलाई कसरी सम्बोधन गर्नुहुन्छ?

म प्रतिपक्षमा चाहिँ थिइनँ, केवल संस्थाको इमानदार सिपाहीको रूपमा संस्थाको हितविपरीत निर्णय हुँदा आवाज उठाइरहेको थिएँ। फुटबल, खेलाडी, क्लब, जिल्ला र खेलकुदका संघलगायत जजसले मलाई विश्वास गरेर समितिमा पठाउनुभएको थियो उहाँहरूको पक्षमा बोलिरहेको थिएँ, न कि एन्फाको विपक्षमा। नेतृत्वमा रहनुभएकालाई यो निर्णय संस्थाको पक्षमा छैन, फुटबलको हितमा छैन भनेर बारम्बार भनिरहन्थें, उहाँहरूले सुन्न चाहनुभएन।

म नेतृत्वमा आएँ भने पनि पक्कै समितिका केही व्यक्तिलाई मेरा सबै निर्णय चित्त बुझ्दैनन्। निर्णयहरू कसैलाई रिझाउन गरिँदैन, एन्फा र फुटबलको हितमा गरिन्छ। तर कसैले निर्णयको विपक्षमा बोल्नुभयो भने म वार्तामार्फत समस्या समाधान गर्नेछु। उहाँहरूलाई किन गलत लाग्यो, उहाँहरूको तर्क सुन्छु। यदि साँच्चै मैले गरेको निर्णय गलत रहेछ भने ती निर्णयमा पुनर्विचार पनि गर्नेछु। सही सुझावको अनुसरण र गलत सुझावको तार्किक खण्डन गर्दै सबै मिलेर अगाडी बढे मात्र समग्र फुटबलको विकास हुनेछ।

गल्ती स्विकारेर त्यसलाई सच्याएर अगाडि बढ्दा कोही सानो हुँदैन। र, हामी एन्फाको कार्यसमितिमा आएका सानोठुलोको नापजोख गर्न होइन, संस्था र फुटबलको हितमा काम गर्न हो।

यसपटक पनि नेतृत्वमा रहेको व्यक्ति मात्र ‘चेन्ज’ भएर नेतृत्व गर्ने शैली र प्रवृत्ति उस्तै रहने हो कि भन्ने अन्योल र डर कायमै छ। एन्फाको इतिहास हेर्ने हो भने यो स्वाभाविक पनि हो। तपाईंलाई किन विश्वास गर्ने?

मलाई किन विश्वास गर्ने भनेर मैले मौखिक स्पष्टीकरण दिनुको खासै अर्थ छैन। हिजो मैले र मेरो टिममा रहनुभएका सबैजनाले के भन्दै आएका थियौं, त्यो मूल्यांकन गर्नुहोस्। हामीले उठाएका कुराहरू कसको पक्षमा छन्, हाम्रा मुद्दाहरू कसको हितमा छन् त्यो हेर्नुहोस्।

हामीले सधैं संस्थाको पक्षमा, खेल र खेलाडीको हितमा, संघ, जिल्ला र पदाधिकारीको हितमा आवाज उठाएका छौं। मूल्यांकन भनेको मैले के भनेर आफूलाई अब्बल बनाउँछु होइन, मैले लामो समयदेखि कस्तो काम गर्दै आएको छु, कसको पक्षमा बोल्दै आएको छु भनेर मलाई विश्वास गर्ने वा नगर्ने भनेर निर्णय लिने हो।

समितिमा भए पनि त्यतिबेला हामी नेतृत्वमा थिएनौं। तर, अब आफू नेतृत्वमा गएर सबैको आवाज सुन्ने, सबैको माग सम्बोधन गर्ने, सबैको भावना समेट्ने, विधान र नियमसम्मत काम गर्दै फुटबल र पूर्वाधारको विकासमा खट्नेछौं। आर्थिक, कार्यगत र नीतिगत पारदर्शिता अपनाउँदै सामूहिक निर्णय गर्नेछौं। विपक्षमा उठेका आवाजलाई दबाएर होइन, समेटेर अगाडि बढ्नेछौं। किनकि, कुनैबेला त्यहाँ हाम्रै आवाज थियो।

केही समयअगाडि खेलाडीहरूले राम्रो डाइट भएन, बस्ने ठाउँ राम्रो भएन भनेर विरोध गरेका थिए। एन्फा फुटबल र खेलाडीको हितका लागि बनेको हो । तर एन्फाकै कारण खेलाडी मर्कामा छन्, फुटबल अधोगतितर्फ लागेको छ भने एन्फाको हुनु र नहुनुको औचित्य के? एन्फाको नेतृत्व दाबी गरिहँदा तपाईंका खेलाडीले यी र यस्ता विषयमा कस्तो अपेक्षा गर्ने?

त्यो मलाई पनि चित्त नबुझेको कुरा थियो। खेलाडीहरूले सामान्य र जायज मागहरू उठाएका थिए। प्रशिक्षकले पटकपटक अपशब्द प्रयोग गरेर खेलाडीलाई निकाले। एकदमै दुःखद घटना थियो त्यो। म त्यसलाई नेपाली फुटबलको कालो दिन मान्छु।

मैले त्यतिबेला खेलाडीको पक्षमा निकै आवाज उठाएको थिएँ। एन्फामा बैठक बोलाएर समाधान खोजौं पनि भनें तर समितिका मान्छे बैठक बस्नै मानेनन्। यो वैशाख १४ गतेको घटना थियो, बैठक बसौं भनेर। १६ र १९ गते दुईपल्ट त चिठी नै पठाएँ मैले, बैठक बस्नु परो भनेर। तर, अध्यक्षले मान्नुभएन। एकल समिति बनाएर छानबिन गर्ने भन्नुभयो। एकजनाको निर्णय कसरी मान्ने? हामीले हुँदैन भन्यौं।

त्यतिबेला हामीलाई थाहा भयो, यस्तो भएको यो पहिलोपल्ट होइन रहेछ। पहिले पनि भएको रहेछ। प्रशिक्षकले धेरै गाली गर्ने अपशब्द बोल्ने गरेका रहेछन्। पहिले यस्तो हुँदा एन्फाले थामथुम पारेर सल्टाएको रहेछ। यसपालि पनि केही समाधान निकाल्न सकिन्थ्यो होला तर नेतृत्वले खेलाडीको हितमा काम गरेन। प्रशिक्षकको पक्षपोषण ग¥यो। हामीले विरोध जनायौं तर अल्पमतमा परेका कारण सुनुवाइ भएन।

अब नेतृत्वमा आएपछि पनि हामी यही जारी राख्नेछौं, खेलाडी र फुटबललाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नेछौं। उनीहरूको पक्षमा बोल्नेछौं र काम गर्नेछौं। अधिकांश खेलाडीहरूलाई थाहा छ, हामी उहाँहरूकै पक्षमा छौं भनेर। त्यसैले काम गर्न धेरै गाह्रो हुनेछैन हामीलाई। उहाँहरूको माग सुनेर जायज मागहरू सम्बोधन गर्नु नै हाम्रो मुख्य काम हो।

फुटबल फ्यानका पनि धेरै अपेक्षा छन् एन्फासँग। नेपालीहरूको फुटबलसँग एक किसिमको ‘इमोसनल अट्याचमेन्ट’ नै छ। त्यसलाई कसरी समेट्नुहुन्छ?

नेपाली फुटबलको सबैभन्दा ठूलो सम्पत्ति नै फुटबल फ्यान हुन्। बाह्रौं खेलाडी हुन् हाम्रा फ्यानहरू। हामीले फुटबलको स्तर सुधार्न खोजेको, राम्रो राष्ट्रिय टिम बनाउन चाहेको, खेलाडीहरूले मरिमेटेर खेलेको सबै फ्यानकै लागि त हो। देशको नाम उच्च राख्ने र फुटबल फ्यानहरूको चाहना पूरा गर्नु नै हो हाम्रो फुटबलको मर्म हो। त्यसैले फुटबलबाट फ्यानलाई अलग्गै राखेर केही उपलब्धि हुँदैन। म आफैं पनि फुटबलको ठुलो फ्यान हुँ, फ्यानबिना र उनीहरूको चाहना सम्बोधन नगरी फुटबल खेलेर मात्र केही हुँदैन। उहाँहरू हाम्रो प्राथमिकतामा हुनुहुन्छ र सधैं रहनुहुनेछ।

केही समयपहिले भएको एउटा विवादमा धेरै फ्यान तपाईंलाई लिएर विभाजित भएका थिए। धेरै तपाईंको विपक्षमा थिए, नकारात्मक टिप्पणी पनि आए। उहाँहरूलाई कसरी समेट्ने वा विश्वासमा लिने योजना छ?

त्यसबेला उहाँहरूले मलाई जेजति गालीगलौज र आरोप लगाउनुभयो, मेरो सम्पूर्ण परिवारलाई पनि धेरै कुरा भन्नुभयो। अब यसलाई दुई तरिकाले बुझ्न सकिन्छ। एक त यो उहाँहरूको फुटबलप्रतिको माया हो। मुख्यतः त्यही नै हो। मलाई गाली गरेको, विभिन्न निराधार आरोप लगाएको मेरो अहित चाहेर भन्दा पनि फुटबललाई माया गरेर हो जस्तो लाग्छ।

अब अर्को तरिकाले हेर्दा यो अघि तपाईंले भनेजस्तो ‘इमोसनल अट्याचमेन्ट’ हो। फुटबलसँग भन्दा पनि प्रशिक्षकसँगको। खेलाडी र प्रशिक्षकसँग यस्तो निकटतम सम्बन्ध राम्रो कुरा पनि हो, यसले फुटबल र फ्यानलाई झन् नजिक बनाउँछ। तर, सम्बन्ध स्वस्थचाहिँ हुनुपर्छ। एउटालाई माया गर्न अर्कोलाई घृणा गर्नुपर्छ भन्ने छैन। सही र गलत छुट्याउन सक्नुपर्छ सबैले। एउटाले केही भन्दैमा जुरुक्क उचालिएर अर्कोको विपक्षमा जाइलाग्नुहुँदैन। दुवै पक्षको कुरा सुनेर आफूले सोचेर विचारेर मात्र निर्णय गर्नुपर्छ।

उहाँहरूप्रति कुनै गुनासो छैन तर भोलिका दिनमा उहाँहरूलाई धारणा बनाउन पारदर्शिता अपनाउँदै म सकेसम्म हरेक पक्षको यथार्थ बाहिर ल्याउनेछु। कोही कसैको दुश्मन छैन यहाँ, हुनु पनि हुँदैन। सहीको पक्षमा लाग्ने र गलत भन्ने बुझेपछि त्यसको विपक्षमा बोल्नुपर्छ। मलाई त्यसबेला गाली गर्नेहरू पनि नेपाली फुटबलका फ्यान हुनुहुन्छ, म उहाँहरूलाई अगाध माया र सम्मान गर्छु। हामी सबै मिलेर अगाडि बढे मात्र फुटबलको समग्र विकास हुन्छ, हाम्रो फुटबलको स्तर बढ्छ। आशा छ उहाँहरूले यसपटक मलाई केही समय दिएर मेरो काम हेरेर मात्र मेरो बारेमा धारणा बनाउनुहुनेछ।

अन्त्यमा, फुटबलप्रतिको तपाईंको लगाव निकै विशेष लाग्छ, विश्वकप हेर्न स्टेडियममै पुग्नुहुन्छ। फुटबलसँग कसरी जोडिनुभयो?

मेरो बुवा, काका, दाजुहरू सबै फुटबल खेल्नुहुन्थ्यो, जसले गर्दा घरमै फुटबलको माहोल थियो। बुवाले काठमाडौंको महावीर क्लबबाट खेल्नुभएको थियो, भाइले राष्ट्रिय टिमबाट खेलेको थियो। यसरी घरका सबैजना कुनै न कुनै रूपमा फुटबलमा आबद्ध भएकाले स्वभावतः मेरो पनि यस खेलप्रतिको लगाव र निकटता बढेको थियो।

सन् २०१० र २०१८ को विश्वकप रंगशालामै हेरें। सन् २०१० मा एन्फाले फिफा कंग्रेसमा सहभागी हुन साउथ अफ्रिका पठाएको थियो, त्यतिबेला रंगशालामै पुगेर विश्वकप हेर्न पाइन्थ्यो। सन् २०१८ मा चाहिँ म व्यक्तिगत खर्चमा रसिया गएर विश्वकप हेरेको थिएँ।

सन् २००२ मा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै एन्फाको केन्द्रीय सदस्यका रूपमा आएको थिएँ। मेरा श्रद्धेय अग्रजहरू गुरु भागीरथ आले (मामा), दिलीप राई, सन्तोष गिरी, शिवभक्त पुरी, आदरणीय किशोर राईलगायत सबैले मलाई विश्वास गरेर पूर्वाञ्चलका तर्फबाट एन्फामा पठाउनुभएको थियो।

 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्