झलनाथ खनालको माग- सीमाबारे भारतसँग सरकारले तत्काल वार्ता गरोस्
काठमाडाैं, कात्तिक २१ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तव....

काठमाडाैं, कात्तिक २१ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै खनालले अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग माग गरेका हुन्।
‘नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धिले नै निर्धारण गरिसकेको छ। त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धारित भइआएको छ। महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो। त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन्।’
भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ।











