कालापानी हाम्रो हो, एक इञ्च सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री ज्ञवाली
बैतडी, कात्तिक २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन्।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्....
बैतडी, कात्तिक २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन्।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबारदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताएका हुन्।
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उनले भने,‘कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ। मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन।’
मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताए। उनले भने,‘पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ।’
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी दिए।
बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए। मन्त्री ज्ञवालीले भने,‘भारतका विदेशमन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौं।’






