Kathmandu Press

भारतीय राजदूत पुरीलाई देउवाको फोन : कालापानी र लिपुलेक हाम्रो हो

काठमाडौं, कात्तिक २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएकाले कुनै पनि खालको अतिक्रमण अस्वीकार्य&....

भारतीय राजदूत पुरीलाई देउवाको फोन : कालापानी र लिपुलेक हाम्रो हो

काठमाडौं, कात्तिक २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएकाले कुनै पनि खालको अतिक्रमण अस्वीकार्य  भएको बताएको छ।

उसले नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने चेतावनी पनि दिएको छ। पार्टीका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका नेपाली भूमि राखिएको भन्दै अतिक्रमण अस्वीकार्य भएको उल्लेख गरेका छन्। 

उनले भारतीय नक्सामा नेपाली भूभाग राखिएको विषयमा सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीलाई फोन गरेर ध्यानाकर्षण गराएको पनि बताएका छन्।

‘नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकारलाई आग्रह गरेको छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतीय भूभागमा देखाइएको छ। यसअघि नेपाल सरकारले कालापानी आफ्नो भूभाग भएको भन्दै भारतले एकपक्षीय रुपमा गरेको निर्णय स्वीकार्य नहुने प्रष्ट पारेको थियो।

तर, बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नभएको जवाफ दिएका छन्।
 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, कात्तिक २१, २०७६