यस्तो छ कास्की–२ को चुनावी अंकगणित
पोखरा, कात्तिक २१ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की–२ विभिन्न पार्टीका दुई दर्जन उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
....
पोखरा, कात्तिक २१ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की–२ विभिन्न पार्टीका दुई दर्जन उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
संघीय संसदको एउटा मात्रै क्षेत्रमा चुनाव हुन लागेकाले कास्की–२ मा विषेशगरी कांग्रेस र नेकपाले जसरी पनि चुनाव जित्ने रणनीतिका साथ अभियान चलाएका छन्।
सत्तासीन दल नेकपाले आफ्नो जनमत कायमै रहेको देखाउन पनि कास्कीमा चुनाव जित्नु पर्नेछ। यता प्रतिपक्षी दल कांग्रेसलाई सरकार अलोकप्रिय छ भन्ने सन्देश दिन पनि कास्कीमा चुनाव जित्नै पर्ने बाध्यता छ।
कांग्रेस र नेकपाबाहेकका दलहरुको उम्मेदवारीले भने कास्कीमा खासै अर्थ राख्दैन। यसअघि ८ सय मत ल्याएको विवेकशील साझा पार्टी फुटेर दुई दल बनेपछि उनीहरुका उम्मेदवारले हजार मत कटाउन पनि मुश्किल हुने देखिन्छ।
सत्ता पक्ष र प्रतिपक्षीले चुनाव जित्ने रणनीति अनुसारै उम्मेदवार पनि चयन गरेका छन्। नेकपाले उम्मेदवार बनाएको विद्या भट्टराई विगतका तीनै चुनावमा जितेर ह्याट्रिक गरेका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन्।

रविन्द्रले बनाएको क्षेत्रमा सरकार अलोकप्रिय भएपनि विद्याले पतिले बनाएको संगठनका आधारमा चुनाव जित्छिन् भन्ने नेकपाको बुझाइ छ। त्यसका साथै पतिको मृत्यु भएपछि पत्नी उठाउने र चुनाव पनि जित्ने विगतको नजिर कास्की–२ मा पनि लागु हुन्छ भन्ने नेकपाको रणनीति छ। यसअघि नेकपामा नेता बामदेव गौतमले सोही क्षेत्रमा चुनाव लड्ने तयारी गरेपनि जित्ने निश्चित नभएपछि पछि पछि हटेका थिए।
यता कांग्रेसबाट उम्मेदवार बनेका खेमराज पौडेल पनि कास्कीमा कसैले पनि अस्वीकार गर्न नसक्ने जिल्ला नेता हुन्। राजनीतिमा वीपी कोइरालासँगको संगत भएका उनी सधैं राजनीति गर्ने तर कहिल्यै पद नपाउने वा नलिने नेताको नामबाट परिचित छन्। उनको उम्मेदवारीले कास्की कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित छन्।
त्यसको पुष्टि बिहीबार उम्मेदवारी पछि भएको पहिलो चुनावी सभाले देखाएको छ। उक्त सभामा कास्कीका नेताहरु तारानाथ रानाभाटदेखि महादेव गुरुङ, देवराज चालिसे, शोभियत अधिकार लगायत सबै नेताहरु हसिलो मुहारहित प्रचार प्रसारमा होमिएका छन्।
कांग्रेसले अन्तरघात नहुने र चुनाव जित्ने सक्ने नेताका रुपमा पौडेललाई उम्मेदवार बनाएको देखिन्छ। पौडेल कास्कीका साच्चिकै सर्वसम्मत नेता हुन्।
नेकपा र कांग्रेसमा को बलियो?
गत चुनावमा कास्की–२ मा तत्कालीन एमालेका युवा नेता रविन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याएर चुनाव जितेका हुन्। तत्कालीन एमाले र माओवादीका संयुक्त उम्मेदवार अधिकारीको त्यो तेस्रो जित हो।
कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। नेकपा र कांग्रेसबीचको मतान्तर ८ हजार ५ सय ४६ मात्रै हो। यहाँ कांग्रेसले चुनाव जित्न अघिल्लो चुनावमा नेकपाको ४ हजार २ सय ७४ मत खोस्न सक्नु पर्छ। यद्यपि सोही क्षेत्रमा कांग्रेसबाट नरेश शंकर पालिखेको बागी उम्मेदवारी परेको थियो। उनले कांग्रेसको मत घटाएका थिए।
विवेकशील साझाका उम्मेदवारले ८ सय ४३, नेकपा मालेले ५ सय ९३, तत्कालीन संघीय समाजवादी फोरमले ३ सय ४० र नयाँ शक्ति पार्टीका उम्मेदवारले २ सय ८६ मत पाएका थिए।
अघिल्लो चुनावको मत हेर्दा नेकपा मत जोगाउने र कांग्रेस मत थप्ने दाउमा देखिन्छन्। कांग्रेसको बागी उम्मेदवार नभएकाले यस पटक अघिल्लो पटकभन्दा केही मत थपिने देखिन्छ। त्यसका साथै कांग्रेसले वर्तमान नेकपा नेतृत्वको सरकारको अलोकप्रियताको फाइदा उठाउन सके केही मत थप्न सक्छ। कांग्रेसले ५ हजार नेकपाको मत खोस्न सके तीन पटक रविन्द्रले जितेर बनाएको लाल किल्ला तोडिने छ।
नेकपाले भने अघिल्लो मत जोगाउने मात्रै काम गरे पुग्छ। विद्याले चुनाव प्रचार प्रसारमा आफ्ना पति र वर्तमान सरकारको बचाउ गरेर अभियान चलाउनु पर्ने हुन्छ। कांग्रेसका पौडेल आक्रमक र नेकपाकी विद्या रक्षात्मक भएर चुनावी अभियानमा उत्रिने देखिन्छ।






