भारतले भन्यो–नयाँ नक्सामा नेपालसँगको सीमा परिवर्तन भएको छैन
काठमाडाैं, कात्तिक २१ : भारत सरकारले हालै सार्वजनिक गरिएको नयाँ नक्सामा नेपाली भू-भाग नपरेको स्पष्ट पारेको छ।
नयाँ नक्सामा क....
काठमाडाैं, कात्तिक २१ : भारत सरकारले हालै सार्वजनिक गरिएको नयाँ नक्सामा नेपाली भू-भाग नपरेको स्पष्ट पारेको छ।
नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो भूभागमा पारेको भन्दै नेपालभित्र चर्को विरोध भइरहेका बेला भारतले नयाँ नक्सामा कुनै पनि नेपाली भूमि नराखेको स्पष्ट पारेको हो।
भारतीय विदेश मन्त्रालयले बिहीबार नयाँदिल्लीमा गरेको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नभएको दाबी गरे।
भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग परेको भनेर नेपालभित्र विरोध प्रदर्शन भइरहेकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता रविशले भने,‘ हाम्रो नयाँ नक्साले भारतको सार्वभौम भूमिमात्रै समेटेको छ। नेपालसँगको सीमा परिवर्तन भएको छैन।’
उनले दुई पक्षीय संयन्त्रबाट नेपालसँगको सीमा निर्धारणको काम चलिरहेको बताए। ‘हामी वार्ताबाट दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार समस्या समाधान गर्न तयार छौं,’ उनले भने,‘हामी फेरि त्यही प्रतिवद्धता जनाउन चाहन्छौं।’
रविश कुमारले दुई देशबीचको सीमानाकाबारे अनावश्यक विषयमा उचाल्ने काम बन्द हुनु पर्ने बताए।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतीय भूभागमा देखाइएको छ। यसअघि नेपाल सरकारले कालापानी आफ्नो भूभाग भएको भन्दै भारतले एकपक्षीय रुपमा गरेको निर्णय स्वीकार्य नहुने प्रष्ट पारेको थियो।






