Kathmandu Press

उपनिर्वाचन: बागलुङ–२ ‘ख’ मा १० जनाको मनोनयन दर्ता

बागलुङ, कात्तिक २१ : बागलुङ–२ ‘ख’ मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्....

उपनिर्वाचन: बागलुङ–२ ‘ख’ मा १० जनाको मनोनयन दर्ता

बागलुङ, कात्तिक २१ : बागलुङ–२ ‘ख’ मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

पहिलो मनोनयन दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त( ले गरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए।  निर्वाचन तालिकाअनुसार बिहीबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो।

शर्माका अनुसार उम्मेदवार नामावलीको सूची पनि प्रकाशन भइसकेको छ। भोलि उम्मेदवारको विरोधमा उजुरी, २३ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २४ गते उम्मेदवारको नामावली फिर्ता र अन्तिम नामावली प्रकाशन, २५ गते निर्वाचन चिन्ह प्रदान र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ।

बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ। वडाध्यक्षको उपचुनावको लागि यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। गाउँपालिकाको केन्द्रमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

बागलुङ–२ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो। यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि उक्त वडामा उपचुनाव हुने भएको हो। रासस

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्