Kathmandu Press

चितुवा नियन्त्रणका लागि तीन ठाउँमा खोर

दमाैली, असार ४ : तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि तीन ठाउँमा पासो थापिएको छ। डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१...
चितुवा नियन्त्रणका लागि तीन ठाउँमा खोर
Hardik ivfHardik ivf

दमाैली, असार ४ : तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि तीन ठाउँमा पासो थापिएको छ। डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१ का तीन ठाउँमा चितुवा नियन्त्रणका लागि खोर राखेको हो।

बन्दीपुर–१ का प्युघर, बाघदले र छापमा बाख्रासहितको खोर राखिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। बन्दीपुर–१ र ४ मा चार दिनको अवधिमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

चितुवाको आतङ्क बढेपछि डिभिजन वन कार्यालयसँगको सहकार्यमा खोर राखिए पनि चितुवा नियन्त्रणमा आउन नसकेको श्रेष्ठले बताए। 'चितुवाको आतङ्कले यस क्षेत्रका सर्वसाधारण त्रसित छन्,'उनले भने। विगत केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो अवस्थामा छ। विशेषगरी जिल्लामा चितुवाको आक्रमणबाट मानिसको ज्यान जाने गरेको हो। बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन।

गत मङ्गलबार चितुवाको आक्रमणबाट मृत्यु भएका बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको परिवारलाई डिभिजन वन कार्यालय र बन्दीपुर गाउँपालिकाले रु ५०–५० हजार हस्तान्तरण गरेको छ। डिभिजन वन कार्यालयबाट थप रु नौ लाख ५० हजार राहत प्रदान गरिने जनाइएको छ।

यसैबीच गाउँपालिकाले चितुवाको आक्रमणबाट घाइते दुई जनालाई उपचार खर्च सहयोग गरेको छ। गत शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट घाइते दुई जनालाई गाउँपालिकाले उपचार खर्च सहयोग गरेको हो। बन्दीपुर–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर–१ बाघदलेका ३५ वर्षीया भीमलाल गरञ्जालाई जनही रु १० हजारका दरले उपचार खर्च सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

बन्दीपुरका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरे। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरे। 'चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,' उनले भने, 'बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गराैं।'

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ। मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको वनको भनाइ छ। 'मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,' उनले भने।

जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ। वनजङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ। चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको शिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ। चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिञ्जाली, माघ १३ गते बन्दीपुर–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्