बेंसीसहर–चामे सडक पुनः अवरुद्ध
लमजुङ, असार ४ : पहिराका कारण बेंसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ ।शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा...
लमजुङ, असार ४ : पहिराका कारण बेंसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो।
खरखरे भीरमा ठुला–ठुला ढुंगासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक जगदीश रेग्मीले जानकारी दिए।
‘त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो,’ प्रहरी निरिक्षक रेग्मीले भने, ‘झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक लगातार अवरुद्ध बनाइरहेको छ ।’
प्रहरीका अनुसार १०÷१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध भएको छ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ ।
बेंसीसहर–चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।











