Kathmandu Press

आलमको थुनछेक बहस: पक्ष-विपक्षमा ३० वकिल

राैतहट, कात्तिक २१ : बम विस्फोटमा घाइते भएका दुई जनालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको आजदेखि थुनछेक बहस सुरू हुने भएको छ....

आलमको थुनछेक बहस: पक्ष-विपक्षमा ३० वकिल

राैतहट, कात्तिक २१ : बम विस्फोटमा घाइते भएका दुई जनालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको आजदेखि थुनछेक बहस सुरू हुने भएको छ। उनको पक्ष र विपक्षमा गरी ३० जनाभन्दा बढी वकिलले बहस गर्ने भएका छन्।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटमा घाइतेलाई ईटाभट्टामा जलाएको आरोपमा उनलाई असोज २६ गते घरबाटै पक्राउ गरिएको थियो। १२ वर्ष अघि भएको घटनामा पक्राउ परेका आलमको तीन दिनदेखि रौतहट जिल्ला अदालतमा बयान चलिरहेको छ।

मंगलबार र बुधबार बयान नसकिएपछि आज पनि बयान लिइने जिल्ला अदालतले जनाएको छ। अदालतका अनुसार, आज बयान सकिएलगत्तै थुनछेक बहस सुरू हुनेछ।

उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा रिहा गर्नेसम्बन्धी निर्णयका लागि आज आजदेखि थुनछेक बहस हुनेछ। थुनछेक बहस लम्बिने देखिएको छ। किनकि, जोहेरी दिने पीडित पक्ष र आमलको पक्षमा बहस गर्ने वकिलको संख्या ३० भन्दा बढी रहेको छ।

अदालतका स्रोतका अनुसार, पीडित परिवारको तर्फबाट पाँच जनाले बहस गर्नेछन्। त्यसमा महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता सूर्यराज दाहालसहित पाँच जनाले बहस गर्नेछन्।

त्यस्तै, विपक्षमा आलतमका तर्फबाट २५ जनाभन्दा बढी वकिलले बहसका लागि वकलातनामा दर्ता गराएका छन्। आलमका तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठलगायतका वकिलले बहस गर्ने जनाएको छ।

२०६४ चैत २७ गते भएको घटनामा पक्राउ परेका सांसद आलम आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। उनले बुधबार जिल्ला अदालतमा दिएको बयानमा घटना नै नभएको दाबी गरेका छन्।

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, कात्तिक २१, २०७६