Kathmandu Press

एसपिपीसम्बन्धी पत्र मेरै पालामा पठाइएको रहेछ तर थाहा दिइएन : ओली

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७४ वैशाख २४ गते फेरि पनि एसपिपीका लागि पत्र लेखिएको उनले दाबी गरे।
एसपिपीसम्बन्धी पत्र मेरै पालामा पठाइएको रहेछ तर थाहा दिइएन : ओली

काठमाडौं, असार ३ : एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) का लागि तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोइरालाले नै पत्र लेखेको दाबी गरेका छन्। 

स्थानीय तहमा निर्वाचित पार्टी जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा बोलदै उनले आफू प्रधानमन्त्री हुँदा पत्र पठाइएको पाइए पनि आफूलाई थाहा नदिइएको स्पष्ट पारे। तर निर्णय आफ्नो पालामा भएको भनेर हल्ला चलाइएको उनले बताए। 

२०७२ असोजमा आफूले सरकार सम्हाल्नुअघि प्रधानमन्त्री र रक्षामन्त्रीमा सुशील कोइराला रहेको र कोइरालाले रक्षामन्त्रीको हैसियतले एसपिपीबारे निर्णय गरेको अहिले जानकारी पाइएको दाबी ओलीले गरे। ‘उहाँले एसपिपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ,’ उनले भने। 

उनले २०७२ असोज ६ गते मन्त्रीस्तरीय निर्णय गरेर १३ गते सैनिक हेडक्वार्टर पठाइएको र आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एम्बासडरलाई पत्र लेखेको पाइइएको उनले बताए। तर त्यो विषयमा आफूलाई जानकारी नदिइएकोे उनले बताए। 

‘हामीलाई बताइएन। २०७२ असोज २४ मा म निर्वाचित भएँ। २५ गते मैले शपथ ग्रहण गरें। तर कात्तिक १० गते त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेको रहेछ,’ ओलीले भने, ‘मन्त्रीस्तरबाट क्याबिनेटले यो निर्णय गरेको हुँदा अघि बढाइपाऊँ भनेर अमेरिकी राजदूतलाई पत्र लेखेको रहेछ ।’ प्रधानसेनापतिले त्यसरी पत्र लेख्ने परम्परा नरहेको उल्लेख गर्दै उनले भने, ‘रक्षा मन्त्रालयको काम हो त्यो। परराष्ट्र मन्त्रालयको काम होला त्यो। तर प्रधानसेनापति आफैंले लेखेको रहेछ। जबकि म त्यो पन्ध्र दिनअघि प्रधानमन्त्री भइसेकेको रहेछु। मलाई त्यो कुरा थाहा दिइएन।’ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला फेरि पनि एसपिपीका लागि पत्र लेखिएको उनले दाबी गरे। ‘प्रचण्डजी प्रधानमन्त्री भएको बेला २०७४ वैशाख २४ गते फेरि राजेन्द्र क्षेत्रीले नै अमेरिकी प्यासिफिक कमाण्डलाई पहिलेको कुरा अघि बढाउनुपर्‍यो भनेर पत्र लेख्नुभएको छ,’ ओलीले भने। 

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इन्डोप्यासिफिक स्ट्राटेजीको कुरा उठाएपछि प्रदीप ज्ञवाली पराष्ट्रमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेका बेला छानबिन समिति गठन गरिएको उनले जानकारी दिए। सो समितिले नै  सैन्य गठबन्धनमा सामेल हुनु ठिक नहुने भन्दै भन्दै ‘च्याप्टर क्लोज’ गरिएको जिकिर उनले गरे।

‘सुशील कोइरालाको पालमा भूकम्पसम्बन्धी विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आइपिएसमा राखेपछि सैन्य गठबन्धनमा सहभागी हुन सक्दैनौं भनेर च्याप्टर क्लोज गर्‍यौं,’ उनले भने, ‘समितिले हामीलाई सहभागी हुन सक्दैनौँ भनेर रिपोर्ट दिएको थियो। त्यसपछि हामीले सहभागी नहुने निर्णय गरेका थियौं। अहिले त्यही कुरा बाहिर निकाल्न खोजिएको छ।’

अहिले अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयरक्राफ्ट राख्ने ड्राफ्ट आएको भन्दै ओलीले आपत्ति जनाए।

 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्