केपी ओलीले नै एसपीपी अगाडि बढाएका हुन् : वामदेव गौतम
काठमाडौं, असार ३ : राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा अगाडि बढाइएको दाबी गरेका...
काठमाडौं, असार ३ : राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा अगाडि बढाइएको दाबी गरेका छन्।
शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले एसपीपीको चर्चा सुरु भएपछि आफूले खोजीनिति गर्दा तत्कालीन प्रधानमन्त्री ओलीकै पालामा यसलाई अगाडि बढाएको भेटिएको बताएका हुन्। उनले एसपीपीको सुरुवात जसले गरेपनि ओली प्रधानमन्त्री हुँदा नै अघि बढाउने काम भएकाले सदनलाई त्यसबारे जानकारी गराउनुपर्ने बताए।
गौतमले सुशिल कोइरालाको समयमा सम्झौता भएको भनिएको र त्यसबेला आफू उपप्रधानमन्त्री रहेको समेत बताएका छन्। त्यसो भएर म माथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के के भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अव सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन,’ उनले भने।
एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा आफै सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने उनको धारणा छ । प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्याएको दावी समेत गरे ।











