उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै
काठमाडौं, कात्तिक २१ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ।
....
काठमाडौं, कात्तिक २१ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदै छ।
कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो।
आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। त्यस्तै, कात्तिक २३ गते बिहान ११ः०० देखि दिउँसो १ः३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, दिउँसो ३ः००देखि ५ः०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने छ।
यसैगरी, कात्तिक २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि अपराह्न ५ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ः०० अपराह्न ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
आज मनोनयन दर्ताका लागि उम्मेदवारले एक÷एक जना प्रस्तावक र समर्थकसहित १० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्नेछ।
पोखरमा राजनीतिक दलले जुलुससहित निर्वाचन कार्यालयमा पुगी उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन्। उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई बिहान ११ बजे उपस्थितिका लागि आमन्त्रण गरेको छ भने नेपाली कांग्रेसले पोखरा सभागृहमा १०ः३० बजे आमन्त्रण गरेको छ।
अन्य राजनीतिक दलले पनि उम्मेदवारी मनोनयन गर्न जान पार्टीका नेता तथा कार्यकतालाई बोलाएका छन्। कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो।
नेकपाले स्व.अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
पोखरा महानगरपालिकाअन्तर्गत ११ वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार आठ सय ७१ मतदाता छन्। निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ।






