Kathmandu Press

एमाले जनप्रतिनिधिको २० संकल्प : जनताको सेवक बन्छौं, भ्रष्टाचार गर्दैनौं

जनप्रतिनिधिहरुले भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प गरेका छन् । त्यस्तै सरुवा–बढुवा तथा पदस्थापनमा परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । 
एमाले जनप्रतिनिधिको २० संकल्प : जनताको सेवक बन्छौं, भ्रष्टाचार गर्दैनौं

काठमाडौं, असार १ : नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले शासक नभई जनताको सेवक बन्ने संकल्प गरेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जारी भएको संकल्पपत्रमा आफ्ना नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमूना बन्ने उल्लेख गरिएको छ । 

जनप्रतिनिधिहरुले भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प गरेका छन् । त्यस्तै सरुवा–बढुवा तथा पदस्थापनमा परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । 

यस्ता छन् २० संकल्प:

१. हामी शासक होइन, जनताका सेवक हुनेछौं।

२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशानका नमूना बन्नेछन्। 

३. हामीहरु सदाचारमा नमूना बन्नेछौं।

४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं।

५. भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरुलाई कानुनी कार्वाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौं।

६. समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रुपान्तरणको अगुवाई गर्नेछौं। समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौं।

७. हामी पारदर्शिता, जनताप्रतिको  जवाफदेहिता, विधिको शासन र सुशानमा विश्वास गर्छौ। तसर्थ आम सरकोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौं। 

८. सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रभावहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहने छौं। कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल सम्बोधन गर्नेछौं।

९. बेरुजु समयमै फस्र्यौट गर्नेछौं र जनताबाट प्राप्त हुने सबै प्रकारका राजश्वको पूर्ण एवम् प्रभावकारी सदुपयोग गर्नेछौं। 

१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिनछौं। प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिका, सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पारहरु एवं जनताको सामूहिक सम्पदाका रुपमा रहेका क्षेत्रहरुको संरक्षण र सम्वर्धनमा संवेदनशील बन्नेछौं। 

११. पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाई तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौं र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौं। 

१२. पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछुत अन्त्य गर्न, बालश्रम निर्मुलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीइ तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौं।

१३. विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौं। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्धन गर्नेछौं। 

१४. स्थानीय उत्पादनको सम्वर्धन र प्रवर्धन गर्नेछौं। समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौं । बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौं। 

१५. प्राकृतिक बिपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर सेवाभावले काम गर्नेछौं। 
१६. धूमपान, सूर्तिजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुराहरुलाई निरुत्साहित गर्नेछौं। 

१७. बैठकहरुलाई छरितो, परिणाममुखी र विषय केन्द्रीत बनाउनेछौं। बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वय र सेवाप्रवाहमा ब्यतित गर्नेछौं। 

१८. नियुक्ति, सरुवा–बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौं। परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौं। 

१९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी बहन गर्दा र जिम्मेवारीबाट बिदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौं। यसबारे उठ्ने कुनैपनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौं। 

२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगाले सार्वजनिक हितमा प्रयोग गर्नेछौं। 


 

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्