प्रधानमन्त्रीले एसपीपीमा हस्ताक्षर गर्दिनँ भन्नु भएको छ : माधव नेपाल
उनले अमेरिकन सरकारले प्रधानमन्त्रीलाई भुलभुलैयामा पारेर एसपीपीमा हस्ताक्षर गराउन सक्ने आशंका व्यक्त गरेका छन्।
काठमाडौं, असार ३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनैप्नि मुलुकको दबाब स्वीकार नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा पनि एसपीपी सम्झौताको विपक्षमा रहेको बताएका छन्।
आफूले एसपीपीका बारेमा प्रधानमन्त्रीसँग सोध्दा हस्ताक्षर नगर्ने बताएको उनले बताए । ‘ यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्नँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने ।
प्रधानमन्त्रीको अडान प्रति आफू पनि खुशी भएको बताए।कुनैपनि राष्ट्रको अनुचित दबाबलाई कुनै हालतमा स्वीकार गर्नु हुँदैन । कहिले दबाब दिएर, फकाएर, कहिले थाहै नदिई निदाएको बेला ह्विस्की खुवाएर साइन गरिएला ख्याल गर्नुहोला । कुनै पनि हिसाबले नफसिकन संस्थागत रुपमा राष्ट्रिय हितलाई लानुपर्छ।’
उनले अमेरिकन सरकारले प्रधानमन्त्रीलाई भुलभुलैयामा पारेर एसपीपीमा हस्ताक्षर गराउन सक्ने आशंका व्यक्त गरेका छन्। ‘मीठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाइ छ।











