एसपीपीबारे परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा भीम रावलको असन्तुष्टि, छानविन समिति बनाउन माग
‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु।’
काठमाडौं, असार ३ : नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे परराष्ट्रमन्त्री नारायण खड्काले दिएको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपीका बारेमा कोट्याउन नहुने भनेर गैरजिम्मिवार अभिव्यक्ति दिएको भन्दै रावलले विरोध जनाएका हुन्।
उनले एसपीपीको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति बनाउनुपर्ने बताए। ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु,’ पूर्वरक्षामन्त्री समेत रहेका रावलले भने।
उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डाबारे पनि परराष्ट्र मन्त्रीसँग प्रश्न गरेका थिए। त्यस्तै एसपीपीबारे सेनाले दोहोरो कुरा गरेको र यसबाट सेनाको छविमा असर पार्ने बताए। ‘एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने ? यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे बिचार गर्न आवश्यक छ।’
नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताए । ‘मौन बस्नुको अर्थ के हो ?’, रावलको प्रश्न छ ।
बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेकाले कोट्याउन आवश्यक नरहेको बताएका थिए।











