Kathmandu Press

विद्याले चुनावी अभियान रविन्द्रको जन्मथलोबाट थाल्ने

पोखरा, कात्तिक २० : कास्की क्षेत्र नं. २ को उपनिर्वाचनकी नेकपा उम्मेद्वार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्वर्गीय पति रविन्द्र अधिका....

विद्याले चुनावी अभियान रविन्द्रको जन्मथलोबाट थाल्ने
फाइल फोटो

पोखरा, कात्तिक २० : कास्की क्षेत्र नं. २ को उपनिर्वाचनकी नेकपा उम्मेद्वार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्वर्गीय पति रविन्द्र अधिकारीको जन्मथलो भरतपोखरीबाट सुरू गर्ने भएकी छिन्। 

विद्याका पति स्व. रविन्द्र अधिकारीको जन्म पोखरा महानगरपालिका वडा नं. ३३ मा पर्ने भरतपोखरीमा भएको थियो। आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट रविन्द्रकी धर्मपत्नी विद्या उम्मेदवार छिन्। 

नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले भने, ‘रविन्द्रले आफ्नो जीवनको बाल्यकाल बिताएको र राजनीतिक जीवनको थालनी गरेको सो ठाउँका स्थानीयसँग अन्तक्रिया र भेटघाट गरेर विद्याले आफ्नो चुनावी अभियान सुरू गर्नुहुनेछ।’  

विद्याका पति रविन्द्र विगतका पछिल्ला तीन निर्वाचनमा लगातार सो क्षेत्रबाट विजयी भएका थिए । पर्यटनमन्त्री रहेका उनको ०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी ताप्लेजुङमा निधन भएका कारण उक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो । रविन्द्रले राजनीतिक रूपमा पछिल्लो पुस्ताको अब्बल नेताको पहिचान बनाएका थिए । 

नेकपा उम्मेद्वार रहेकी विद्याले पनि उक्त स्थानलाई  आफ्नो पनि राजनीतिको प्रेरणाको स्रोत भएको भन्दै उनले पनि सोही क्षेत्रबाट निर्वाचन अभियान सुरू गर्न चाहेको आचार्यले बताए। विद्याले स्थानीयको आशीर्वाद ग्रहणलगत्तै शहीदको शालिकमा माल्यार्पण गरी कात्तिक २१ गते जिल्ला पार्टी कार्यालयबाट कार्यकर्ताको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। 

स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा रविन्द्रसँगै विद्यार्थी राजनीति गरेकी उनकी धर्मपत्नी विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्