Kathmandu Press

‘गो ब्याक इण्डिया’ भन्दै काठमाडौंमा नेविसंघ र अखिलको प्रदर्शन

काठमाडौं, कात्तिक २० : भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्....

‘गो ब्याक इण्डिया’ भन्दै काठमाडौंमा नेविसंघ र अखिलको प्रदर्शन
रिवाज राई

काठमाडौं, कात्तिक २० : भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। 

लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा राखेर नक्सा जारी गरेको विरोधमा बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा सत्तासीन दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको हुन्। 

‘लिपुलेक हाम्रो हो’, ‘कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ लेखिएका प्ले कार्ड र ब्यानरसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। 

पुतलीसडकबाट सुरू भएको नेविसंघको विरोध प्रदर्शन प्रदर्शनी मार्ग हुँदै शंकरदेव क्याम्पसमा गएर टुंगिएको थियो। नेविसंघ शंकरदेव क्याम्पसको आयोजनामा भएको विरोध प्रदर्शनीमा नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले, निवर्तमान केन्द्रीय सदस्यहरु नवराज त्रिपाठी, रुपा शर्मा लगायतका नेताहरुको उपस्थिति थियो।

र्‍यालीमा सहभागीहरुले ‘आफ्नो माटो अर्काको दाबी, किन मौन सरकार’, ‘हाम्रो माटो हाम्रो जीवन, कागजी अतिक्रमण मुर्दावाद’, ‘भारतीय हस्तक्षेपविरुद्ध जवाफ दिन घुडा नटेक सरकार, नेविसंघ युद्ध लड्न तयार छ’ लगायतका नारा लगाएका थिए। नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतले जारी गरेको नयाँ नक्सामा आफ्नो सीमाभित्र राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।  

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, कात्तिक २०, २०७६