प्रधानमन्त्रीका सल्लाहकारले भने- लिपुलेकको विवाद मिलाउन कूटनीतिक पहल गर्छौं
काठमाडौं, कात्तिक २० : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली....

काठमाडौं, कात्तिक २० : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकाले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन्।
भट्टराईले नेपाली भू–भागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘कालापानी नेपाली भू–भाग हो। ऐतिहासिक तथ्यले पनि त्यही भन्छ। हाम्रो मान्यता पनि यही हो। १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ। कालापानी लगायत सबै सीमा विवाद टुंग्याउनुपर्छ।’
उनले सीमा विवादहरु सहमतिअनुसार कूटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने बताए। उनले भने,‘त्यसका आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। अर्को विकल्प छैन।’ वर्तमान सरकार प्रभावकारी कूटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले बताए।
सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताउँदै एक पक्षीय निर्णय अमान्य हुने उनको भनाइ छ। उनले भने,‘जुनसुकै समस्या समाधान कूटनीतिक निष्कर्षमा पुग्नुपर्छ।’ सरकारले जि.पि.एस. प्रणालीमार्फत सिमा व्यवस्थित गर्न गइरहेको पनि बताए।
नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाब परिवर्तन गर्दा समस्या हुने गरेको पनि उनले बताए। उनले भने,‘कतिपय पिलरहरु हराएका छन्। जमिन अतिक्रमण भएका छन्।’
त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सिमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको बताए। उनले लिपुलेक पनि नेपालकै भएको बताए। भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिशन राखिसकेको पनि उनल बताए।











