Kathmandu Press

अर्थमन्त्रीको जवाफ : करको दर हेरफेर प्रकृयाबाट गरिएको छ,अनधिकृत व्यक्तिबारे थाहा छैन

‘राष्ट्रघात भएको छैन, देशको डलरको सञ्चितिलाई ध्यान दिएर, आयात, उत्पादन, औद्योगिक क्षेत्रलाई समेत कसरी अगाडि बढाउने भन्ने विष्षयलाई ध्यान दिएर हेरफेर गरिएको हो,’ उनले भने। 
अर्थमन्त्रीको जवाफ : करको दर हेरफेर प्रकृयाबाट गरिएको छ,अनधिकृत व्यक्तिबारे थाहा छैन

काठमाडौं, असार २ : अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप निराधार भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले प्रकृया पुर्याएरै बजेटमा करका दर हेरफेर गरिएको बताएका हुन्।  

‘कुन मान्छे भित्र आए, कुन मान्छे बाहिर गए भन्ने कुरा मलाई थाहा हुने कुरा होइन। मैले साढे ११ बजेपछि पौने १२ बजे गएर पुल्चोक क्वार्टरमा गएर आराम गरेको छु र बिहान ६ बजे मन्त्रालय गएको हुँ,’ उनले भने।   

सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको कमिटीका व्यक्तिहरु नै बजेट निर्माणमा सहभागि भएको स्पष्टिकरण दिए। उनले प्रक्रिया पुर्याएर गरिएका हेरफेरप्रति आफू जिम्मेवार र जवाफदेही रहेको समेत बताए। यसबाट राष्ट्रघात नहुने पनि उनको भनाई छ । 

‘राष्ट्रघात भएको छैन, देशको डलरको सञ्चितिलाई ध्यान दिएर, आयात, उत्पादन, औद्योगिक क्षेत्रलाई समेत कसरी अगाडि बढाउने भन्ने विष्षयलाई ध्यान दिएर हेरफेर गरिएको हो,’ उनले भने। 

अर्थमन्त्री शर्माले महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गरी सेनिटरी प्याड आयातमा ९० प्रतिशत राजस्व छुट दिएइको बताए । सरकार आन्तरिक उद्योगलाई रक्षा गर्न प्रतिवद्ध रहेको र बजेटमा पनि सोबारे व्यवस्था गरिएको उनले बताए। देशभित्रै सेनिटरी प्याड उत्पादन गर्ने उद्योगलाई कच्चा पदार्थ खरिदमा राजस्व छुट दिइएको उनले बताए। 

उनले पाम आयल र पामोलियन पैठारीको महसुल दरमा कुनै परिवर्तन नभएको पनि बताए। विस्कुट र चाउचाउ उद्योगले पाम आयलको पैठारी गर्दा उद्योग विभागको सिफारिसमा ५ प्रतिशत भन्सार महसुल लाग्ने गरी प्रस्ताव गरिएको बताए। ‘प्रस्तावित व्यवस्थाले चाउचाउ र बिस्कुट उद्योगलाई सहुलियत प्राप्त भएको छ । त्यसले पाम आयल र तेलहरुमा उद्योगलहरुलाई हामीलाई समस्या परेको बताउनुभयो, हामी छलफलमा छौं,’ उनले भने। 

त्यस्तै विद्युतीय सवारी साधनतर्फ १०० किलोवाट भन्दा मुनिका कुनैपनि सवारी साधनको कर नबढाइएको उनले बताए । ‘त्यसभन्दा माथिका सवारी साधनहरुमा कर बढाइएको हो। विदेशी मुद्रा सञ्चिती र देशको अर्थतन्त्रलाई आधार बनाएर करको दर तोकिएको हो,’ उनले भने। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्