Kathmandu Press

जनप्रतिनिधिलाई ओलीको निर्देशन : ५ वर्षपछि जनताले जता फर्केपनि विकास देख्ने गरी काम गर्नुस्

‘मेरो ईच्छा छ, तपाईले कार्यकाल पूरा गर्दा तपाईहरुको हाइहाइ होस् ।आलोचना सुन्न नपरोस, प्रसंशा सुनने अवशसर बनोस्’
जनप्रतिनिधिलाई ओलीको निर्देशन : ५ वर्षपछि जनताले जता फर्केपनि विकास देख्ने गरी काम गर्नुस्
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, असार २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षभित्र जनताले जताततै विकास देख्ने गरी काम गर्न निर्देशन दिएका छन्। 

काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिँदै जनतालाई सेवा सुविधा दिन दृढतापूर्वक काम गर्न निर्देशन दिएका हुन्। 

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका बारेमा जनताबाट वाहवाही सुन्ने आफ्नो इच्छा रहेको ओलीले बताए। ‘मेरो ईच्छा छ तपाईले कार्यकाल पूरा गर्दा तपाईहरुको नाम हाइहाइ होस् ।आलोचना सुन्न नपरोस, प्रसंशा सुनने अवशसर बनोस्,’ जनप्रतिनिधिलाई निर्देशन दिँदै ओलीले भने, ‘जनप्रतिनिधिको नमूनाको रुपमा आफूलाई  प्रस्तुत गर्न सक्नुस्।’ 

उनले भिजन र योजनासहित विकासका निम्ति साझा प्रयासहरु कसरी परिचालित गर्न सकिन्छ भन्ने दृष्टान्त बन्न सक्नुपर्ने पनि बताए । ‘विकासका अभियान्ता हुन सक्नुस्, जनतालाई सेवा दिने कुरामा सदा तत्पर रहनुस्,’ उनले भने। 

ओलीले विकास यहाँ भयो भनेर देखाइरहन नपर्ने अवस्था बनाउन जनप्रतिनिधिलाई निर्देशन दिए। ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारर , सामाजिक पूर्वाधार, खानेपानी, सञ्चार, सरसफाई, वातावरणीय दृष्टिले यहाँनेर विकास भयो भनेर देखाइरहन नपरोस् । मान्छेहरु जता फर्केपनि विकास देखोस्,’ उनले भने, ‘ताकी ५ वर्षमा अत्यन्त सक्षम र अनुभवि जनप्रतिनिधिका रुपमा स्थापित हुन सक्नुस्।’ 


 

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्