Kathmandu Press

कांग्रेसका उम्मेदवार : कास्कीमा पौडेल, बाग्लुङमा शेरचन, दाङमा आचार्य र भक्तपुरमा भँडेल

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सबै उम्मेदवारको नाम टुंग्याएको छ।

बुधबार बसेको पदाधिकारी ....

कांग्रेसका उम्मेदवार : कास्कीमा पौडेल, बाग्लुङमा शेरचन, दाङमा आचार्य र भक्तपुरमा भँडेल

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सबै उम्मेदवारको नाम टुंग्याएको छ।

बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन सिटका लागि हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको नाम टुंगो लगाएको हो।

कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि  कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  पुराना नेता पाैडेल यसअघि कास्की सभापति पनि भएका थिए।

यस्तै, प्रदेशसभाका लागि हुने उपनिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा  केशव शर्मा आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव पौडेलले जानकारी दिए। 

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा उपचुनाव हुन लागेको हो। नेकपाले उक्त क्षेत्रमा रवीन्द्रकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ। 

उपचुनावका लागि उम्मेदवारी मनोनयन भोलि (कात्तिक २१) गते हुँदैछ। 
 
 

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, कात्तिक २०, २०७६