Kathmandu Press

सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडाैं, असार १ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताएका छन्। नेपाल मगर संघले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको...
सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडाैं, असार १ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताएका छन्। 

नेपाल मगर संघले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको ‘मगर भूमे/भूम्या पर्व-२०७९’ लाई सम्बोधन गर्दै उनले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताए।
 
विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र कुरीतिले भरिएका संस्कार परिमार्जन गर्नुपर्नेमा उपराष्ट्रपतिले ध्यानाकर्षण गराए। 'चाडपर्वसँग भाषा, भूगोल, सभ्यता, संस्कृति र पहिचान जोडिएको छ, त्यसकारण हाम्रो सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास गर्न जरुरी छ। संस्कृति, भाषा रहेन भने हाम्रो भौतिक उपस्थितिले सार्थकता पाउने छैन,' उनले भने।
 
मगर समुदायमा भएका प्राचीन मौलिक संस्कृति, चाडपर्वमध्ये भूमे पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीकका रुपमा भूमे पर्व रहेको बताए। 'भूमि पर्व भूमिप्रति सम्मान र आदर हो। भूमि छ र त हामी मानव छौं। भूमि भएर यहाँ प्राणी जगत् छ,' उनले भने, 'त्यहीँ भूमिमा फलेको अन्नबाली खाएर हामी जिउने अवसर पाएका छौँ। त्यसकारण भूमे पर्व प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीक पनि हो।'
 
नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायका आ–आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै उनले एकअर्काको पहिचानलाई स्वीकार र सम्मान गर्न सबैले सक्नुपर्ने बताए। 'एकअर्काको पहिचान पनि स्वीकार र सम्मान गर्नसकेमा मात्रै हाम्रो राष्ट्रिय एकता थप मजबुत र सुदृढ हुन सक्छ,' उपराष्ट्रपतिले भने।
 
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिका सभापति जयपुरी घर्तीले मगरलगायत आदिवासी जनजाति समुदायका व्यक्तिलाई राज्यका निकायमा अर्थपूर्ण सहभागिता पुर्‍याउनुपर्ने बताए। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउन छुट्टै आदिवासी जनजाति मन्त्रालय बनाउनुपर्ने बताए।
 
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नेपाल मगर सङ्घका निवर्तमान अध्यक्ष नवीन रोकामगरले सबै जातजातिको मुख्य पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्ने र परिवर्तनका लागि योगदान गरेका आदिवासी जनजाति समुदायलाई अधिकार दिन कुनै कन्जुस्याइँ गर्न नहुने बताए।
 
वर्षायामको सुरुआतसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भन्ने मान्यताका साथ काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायका व्यक्तिले आज खुलामञ्चमा भेला भएर भूमे पर्व मनाएका छन्। अथार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले भूमे पर्वका अवसरमा भूमिलाई पूजा गर्दछन्। रोल्पा, पूर्वरुकुम, प्यूठान, सल्यान, पश्चिम रुकुम, दाङ तथा धौलागिरिका बागलुङ, म्याग्दीलगायत जिल्लामा भूमे पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्