मूल राजनीतिज्ञहरुकै कारण युवाहरु राजनीतिबाट विमुख भए : भुसाल
काठमाडौं, असार १ : एमाले नेता घनश्याम भुसालले मूल राजनीतिज्ञहरुकै कारण युवाहरु राजनीतिबाट विमुख हुँदै गएको बताएका छन्।युवा वम बहसले बुधबार आयोजना गरेको ‘कम्युनिस्ट...
काठमाडौं, असार १ : एमाले नेता घनश्याम भुसालले मूल राजनीतिज्ञहरुकै कारण युवाहरु राजनीतिबाट विमुख हुँदै गएको बताएका छन्।
युवा वम बहसले बुधबार आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तर्क्रियामा उनले नेताहरूको बौद्धिकतामाथि प्रश्न उठ्ने गरेको र उनीहरूकै कारण नेपाको राजनीतिको संस्कार खस्किँदै गएको बताए।
मूल राजनीतिज्ञकै कारण युवाहरूको स्वतन्त्र उम्मेदवारी परेको र विजयीसमेत भएको उल्लेख गदैृ उनले भने, ‘युवाहरु विद्रोहका साथ अगाडि बढिरहेका छन्। हाम्रो आन्दोलनलाई सचेतका साथ नहेर्ने हो भने भयंकर खतराहरु देखिन थालेका छन्।’
राजनीतिज्ञ भनेको समाजका गुरुहरू भएका कारण उनीहरुले बोलेका कुरा समाजले सिक्ने उनले बताए। ‘ठुलो मान्छे जता हिँड्छ, समाजले त्यही बाटो रोज्छ। तर हाम्रो नेताहरुको बोल्नै शैली र बौद्धिकताबाट समाजले गाली सिकिरहेको छ,’ उनले भने।
त्यसक्रममा उनले केही नेताहरूको उदाहरणसमेत दिए । ‘प्रचण्डले एमाले पत्ता साफ गरिदिन्छु भन्दा त्यसको विरोधमा एमाले कार्यकर्ताले लाठी लिएर उभिनु उनीहरुको योग्यता हो,’ उनले भने, ‘ओली कमरेडले माधव नेपालको नाम लिएर कुल्ला मात्र गर्यो भने खाँटी एमाले कार्यकर्ताले बान्ता नगरी त्यसको योग्यतै पुष्टि हुँदैन। चाहेर नचाहेर त्यस्तो गर्नु नै योग्यता हो। त्यसले हाम्रो समाजलाई कता लैजान्छ?’
उनले संसदमा अहिले पनि सबैभन्दा ठुलो शक्ति कम्युनिस्ट भए पनि कांग्रेसले राज गरिरहेको बताए। उनले नेपाल युक्रेनको बाटोमा रहेको संकेत गरे। अमेरिकी सेना बोलाउने, चीननजिक लगेर छाडिदिने विषय डरलाग्दो भएको पनि उनले बताए।
उनले कम्युनिस्टहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको औंल्याए। उनले आफूले केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसँग यसबारे छलफल गरेको समेत जानकारी दिए।
‘हामीसँग दुइटा बाटा छन्– एकता वा सत्यनाश। मैले नेपाल, प्रचण्ड र ओलीसँग पनि सोधेको छु। विचारमा प्रचण्ड र माधवजीको पार्टीभन्दा के भिन्नता छ भनिदिनुस्भ भन्दा केवल गालीगलौज छ,’ उनले भने।











